सञ्चार सम्बन्धित विधेयक र मस्यौदामा राय दिन सञ्चारमन्त्रीकाे आग्रह

  फागुन २४, २०७६

काठमाडौँ, फागुन २३ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले संसदमा रहेका सञ्चार सम्बन्धित विधेयक र तयार हुँदैगरेका मस्यौदामा राय सुझाव दिन सरोकार पक्षलाई आग्रह गर्नुभएको छ ।

अर्थ मन्त्रीको जिम्मेवारीमा समेत रहनुभएका सरकारका प्रवक्ता डा.खतिवडाले भन्नुभयो, “सञ्चारसँग सम्बद्ध कतिपय विधेयक संसद र संसदका समितिहरुमा विचाराधीन रहेका छन् । कतिपय मस्यौदा मन्त्रिपरिषद्मा छन् । तिनका मूलभूत विषयमा मतभिन्नता नरहे पनि कतिपय विषय परिमार्जित गर्नुपर्ने छ भने राय सुझाव दिनुहोला,” सञ्चार मन्त्रीलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।

मन्त्री डा.खतिवडाले नेपाल पत्रकार महासंघका पदाधिकारीसँग शुक्रबार मन्त्रालयमा छलफलका क्रममा भन्नुभयो, “मौलिक हक कार्यान्वयन, विकास प्रक्रिया, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्धको विकासलगायत साझा मुद्दाहरुमा सञ्चार जगतसँगै सहकार्य गरेर अगाडि बढ्न चाहन्छौ ।”

उहाँले सुशासनको पूर्वशर्त नै सूचनाको हक भएको चर्चा गर्दै भन्नुभयो, “सूचनाको हकको पालना गर्ने सरकार र सूचनालाई प्रयोग गर्ने सञ्चार जगत वा नागरिक समाजका पनि आफ्ना विधि हुन्छन् ।” उहाँले सरकार पारदर्शी र जवाफदेही हुने स्पष्ट पार्दै सञ्चार जगतको पनि नागरिक समाज र मुलुकप्रति अझ बढी जिम्मेवारी हुने बताउनुभयो । उहाँले पत्रकारका लागि बजेटमा गरिएका कतिपय व्यवस्था कार्यान्वयन नभएको भन्ने गुनासोबारे अनुगमन गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले कोभिड–१९ (कोरोना भाइरस) बारे सन्त्रास होइन उच्च सजगता र सतर्कता अपनाउनुपर्नेमा जोड दिदै त्यसका लागि सञ्चार माध्यमसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संवादको शुभारम्भ हो यो । सञ्चार सम्बन्धि विधेयक र मस्यौदामा तपाईहरुको (पत्रकार महासंघ) सुझाव छन् भने लिखित रुपमा नै दिनुस् । यस विषयमा छलफलमा बसौ ।” छलफलमा पत्रकार महासंघका सभापति गोविन्द आचार्यले महासंघको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धताप्रति मन्त्रीलाई धन्यवाद दिनुभयो ।

उहाँले महासंघ र सञ्चार मन्त्रालयबीच संवादहिनताको स्थिति पनि सिर्जना भए विगतमा भएको चर्चा गर्दै भन्नुभयो, “सरकारले पत्रकार र प्रेस स्वतन्त्रताका कुरा गरिदिनुस् । पत्रकारको दायित्व र मर्यादाका लागि हामी लड्छौं ।” उहाँले कानुनले चिनेको, नागरिकको तहबाट गठन भएको पुरानो र लोकतान्त्रिक संस्था महासंघ भएकाले लोकतान्त्रिक सरकारसँग केही अपेक्षा गर्नु अन्यथा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेस परिचयपत्र लिनेदेखि सञ्चारका सामान्य काम गर्न केन्द्रमै आउनुपर्ने वाध्यता रहेको छ ।

नेपाली सञ्चार क्षेत्रलाई संघीय मोडलमा लैजान आवश्यक छ ।” सो अवसरमा सभापति आचार्यले महासंघले आमसञ्चार क्षेत्रको विकास र श्रमजीवी पत्रकारसँग सम्बन्धित नौं बुँदे ध्यानाकर्षण पत्र मन्त्री डा.खतिवडालाई बुझाउनुभयो ।

तपाईको प्रतिक्रिया