विश्वसुन्दरी हेलम्बुमा

  फागुन २३, २०७६

चौतारा, फागुन २४ : सन् २०१९ की विश्वसुन्दरी जमैकाकी टोनी एनसिन हमज आज सिन्धुपाल्चोकको हेलम्बुमा आइपुग्नुभएको छ । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र शृंखला खतिवडासँग आज बिहान आएका उनी हेलम्बुमा निर्माण भइरहेको घोप्टे ध्याङस्थित हिमालय पदमार्ग ‘ग्रेट ट्रेल’को अवलोकन गर्नुभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमग्याल्जेन शेर्पाले बताए ।

त्यसैगरी उनले वडा नं ७ सोलसिंग गाउँको पनि अवलोकन गरे । त्यहाँ नेपाल सुन्दरी अनुष्का श्रेष्ठद्वारा स्वावलम्बन कार्यक्रमअन्तर्गत १४० घरपरिवारका लागि शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वसुन्दरी टोनी बिहीबार नेपाल आउनुभएको थियो ।

पर्यटकीय दृष्टिकोणले चर्चित हेलम्बुमा चीनको ग्रेटवालको झल्को दिने हिमालयन हेलम्बु ग्रेट ट्रेलको गत वर्षदेखि निर्माण शुरु भई हालसम्म ११० मिटर सम्पन्न भएको छ । कूल तीन अर्ब बजेटमा ६० किलोमिटर निर्माण गरिने बहुवर्षीय योजनाअन्तर्गत चालू आवमा एक किलोमिटर निर्माण गर्ने लक्ष्य रहेको पालिकाले जनाएको छ ।

कडा चट्टान ढुंगा काटेर सिमेन्टको जोडाइमा दुई मिटर सिमेन्टको सिँढी बनाइएको छ । पदमार्गको दुवैपट्टि ६० सेन्टिमिटरको चौडाइको पर्खाल निर्माण गरिएको छ । एक मिटर सिँढीको काम पूरा गर्न ३० हजार लागत लाग्नुका साथै समय पनि बढी लाग्ने गरेको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताए ।

तपाईको प्रतिक्रिया