बागलुङ, फागुन २४ : एघार देशका १५ मूर्तिकारले १७ दिन गलकोट नगरपालिका–५ टेउवामा बिताए । उनीहरूले दुई साता लगाएर ढुंगामा १५ मूर्ति कुँदे । आफ्ना अमूल्य कलाकृति नेपाललाई दिए । यही फागुन ५ गतेदेखि चलेको अन्तरराष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला आ–आफ्नो सीप र क्षमताको प्रदर्शन तथा विभिन्न अनुभव आदानप्रदान सफल पारे ।
बुधबार कार्यशाला सकिएसँगै मूर्तिकार आ–आफ्नो देश फर्केका छन् । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालामा पाँच नेपालीसहित १५ मूर्तिकार सहभागी थिए । अन्तरराष्ट्रिय ख्याति कमाएका मूर्तिकारले ढुंगामा प्रकृति, जीवन, संस्कृति र सभ्यता खोपे । खहरेमा यसै पल्टेका ढुंगामा मूर्त, अर्धमूर्त र अमूर्त कला भरे । खुला मूर्तिकला संग्रहालय र ललितकला अध्ययन तथा अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो ।
मूर्तिकारले सिर्जना गरेका कलाकृतिलाई टेउवामै खुला संग्रहालय बनाएर प्रतिस्थापन गरिने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । ‘रु १२ करोडको डिपिआर बनाएर काम अघि बढाएका छौँ’, उनले भने, ‘टेउवालाई सांस्कृतिक एवं पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य छ ।’
देश विदेशका प्रसिद्ध मूर्तिकारका कलाकृति संग्रह गर्न पाउनु नेपालकै लागि गौरवको विषय भएको कार्यशालाका संयोजक एवं नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ ओम खत्री बताउँछन् । उनीकै सोच र योजनामा कार्यशाला साकार बनेको हो । ब्राजिलका मूर्तिकार जर्ज लुइज सोडरले सो कार्यशालालाई जीवनमा भुल्न नसकिने क्षणका रूपमा अथ्र्याए । उनले नेपालको भूगोल, हावापानी र संस्कारले आफूलाई मोहित पारेको बताउँछन् । भारतका प्रख्यात मूर्तिकार टुटु पटनायक कार्यशाला अवलोकनका लागि आएका कलाप्रेमी दर्शक देखेर दंग परे ।
‘ठूला शहरमा त कलाको महत्व कम छ, यस्तो गाउँमा कार्यशाला हुनु महत्वपूर्ण कुरा हो’, उनले भने । आयोजकका अनुसार हजारौँ अवलोकनकर्ताले कार्यशाला अवलोकन गरे । अघिपछि सुनसान लाग्ने टेउवामा कार्यशालाले बेग्लै रौनक ल्याएको थियो ।
कार्यशालाको समापनमा पुग्नुभएका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले समेत रुचिपूर्वक मूर्तिको अवलोकन गरेका थिए । उनले खुला मूर्तिकला संग्रहालय देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने बताउँछन् । उनले कार्यशालाले बागलुङमात्र नभई गण्डकी प्रदेश र सिंगै नेपाललाई चिनाएको धारणा राखे । उनले संग्रहालयसहित अन्य पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका काममा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिएका थिए । मूर्तिकार श्रेष्ठले भगवान गणेश, खत्रीले चरा, काफ्लेले प्रविधि, चौधरीले गौतम बुद्ध र पिठाकोटेले प्रकृतिलाई कलामा उतारेका छन् ।
यस्तै जापानका जुनिचिरो सुगिमोतोले डुंगा, चीनका ल्यू यांगले नदी र समुन्द्र, इटालीका बेतिनो फ्रान्सेनीले औँठाछाप, फ्रान्सका जिवियर गोञ्जालेजले जीवन, ताइवानका लिन ली जेनले जीवनचक्रबारे अमूर्त मूर्ति कुँदेका छन् । क्यानाडाकी जुली ग्लास्पीले पनि जीवन र प्रकृति, भारतका टुटु पटानायकले रामायणको कथामा हनुमानले बोकेको सञ्जीवनी पर्वत, इजरायलकी तान्या प्रिमेन्जरले चरा र सर्प ब्राजिलका जर्ज लुइज सोडरले नेपाली बस्ती, भूबनोट र युक्रेनका मूर्तिकार ल्युडमाइला माइस्कोले चन्द्रमाको विभिन्न स्वरुपलाई कलामा प्रतिबिम्बित गरेका छन् ।
मूर्तिकारले निजी अनुभूति र भावनामा आधारित रहेर मूर्ति कुँदेको कार्यशालाका संयोजक खत्रीले बताए । उनका अनुसार कार्यशालामा सहभागिताका लागि अन्तरराष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । कार्यशालामा भाग लिनका लागि देशविदेशका गरी दुई सय पाँचजना मूर्तिकारले आवेदन दिएका थिए ।
तीनैमध्येबाट छनोटमा परेका मूर्तिकारले उक्त कार्यशालामा भाग लिएका हुन् । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच सहयोगी मूर्तिकारसमेत कार्यशालामा सहभागी थिए । आर्थिक वर्ष ०७३/७४ देखि कार्यशालाका लागि तयारी अघि बढाइएको थियो । पूर्वाधार निर्माणसहित कार्यशाला सञ्चालनका लागि झण्डै दुई करोड ३० लाखभन्दा बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ । कार्यशालाका लागि सरकारी निकायदेखि व्यक्तिगत रूपमासमेत आर्थिक सहयोग जुटाइएको थियो । कार्यशालास्थलका लागि स्थानीयवासीले २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । सोही स्थानमा खुला मूर्तिकला संग्रहालय र ललितकला अनुसन्धान केन्द्र बनाउने प्रतिष्ठानको योजना छ ।