जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ

  फागुन २३, २०७६

लमजुङ, फागुन २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका आदिवासीको भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षणमा गण्डकी प्रदेश सरकार लागेको बताएका छन् । बेँसीशहरमा आजदेखि शुरु भएको दोस्रो आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आदिवासीको भाषा संस्कृतिको संरक्षणका लागि विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सरकारले निरन्तरता दिनेछ भने ।

प्रदेशमा रहेका आदिवासीको संस्कृति नेपालकै संस्कृतिका रूपमा विकास सरकारले गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ । संसारमै नभएको आदिवासीको विभिन्न सांस्कृतिक सम्पदाहरू गण्डकी प्रदेशमा मात्र रहेकाले त्यसलाई देखाएर पर्यटक लोभ्याउन सकिने उनको भनाइ छ । लोपोन्मुख तथा पिछडिएका वर्गलाई माथि उकास्नका लागि प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर निर्माण गरिरहेको मुख्यमन्त्रीले बताए ।

उनले भने, ‘कम्युनिष्ट सरकारले विकासको मूल फुटाउन थालेको छ । सरकारले गरेको विकासमा जनता आशावादी र सकारात्मक भएर लाग्नुपर्छ’, उनले भने । उनले भने, ‘मुलुक विकासको बाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणमा समेत सरकार लागेको छ । अहिलेको सरकारले विकास गरेकाले आर्थिक दर वृद्धि हुँदै गएको समेत उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, प्रदेश सदस्य मुधुमाया अधिकारी, बेँसीशहर नगरपालिका गुमानसिं अर्याल, मस्र्यांदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आदिवासीको भाषा तथा संस्कृतिको पहिचान र जगेर्ना गर्न सकेमा नेपालको पहिचानसमेत रहने बताउँछन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष हरिजंग तामाङले जिल्लामा रहेका नौवटै आदिवासी समुदायको भाषा तथा संस्कार संस्कृतिको संरक्षण गर्नका लागि महोत्सवको आयोजना गरिएको बताउँछन् । ‘मौलिक संस्कृति, भाषा र सम्यता हाम्रो पहिचान ! एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने नाराका साथ महोत्सव आगामी चैत महिनाको २ गतेसम्म सञ्चालन हुनेछ ।

मस्र्यांदी नदीको बेलौतिविसनाबाट झिँगेखेलाको दोभानसम्म ¥याफ्टिङ, विभिन्न जातजातिको सांस्कृतिक घरसहितको जातीय खाना तथा मौलिक परिकारको खाजा तथा खाना आदिवासीको जनजातिको जन्मदेखि मृत्युसम्मको संस्कारमा चाहिने सामग्री, पोसाक, कपडा विभिन्न बाजा र सांस्कृतिक सामग्रीको प्रदर्शनी, कृषि र हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ । महोत्सव अवधिभर दुई लाख पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकको छ । दुई करोडको कारोवार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ । महोत्सवमा एक सय ७५ वटाभन्दा बढी स्टल राखिएको छ ।

तपाईको प्रतिक्रिया