अफगानिस्तानमा भीडमा गोली प्रहार, ३१ को मृत्यु, ५५ घाइते

  फागुन २३, २०७६

कावुल फागुन २४ : अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना भएको हो । ‘हामीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ, मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन्,’ गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले भने ।

स्थानीय टोलो न्यूज टेलिभिजनसँगको कुराकानी क्रममा उनले कावुलको डास्टी बार्चीमा शुक्रबार भएको यो आतंकारी आक्रमणमा परी ५५ जना घाइते भएको पनि जानकारी दिए । सांस्कृतिक तथा धार्मिक भवनको रुपमा रहेको मोसल–ए–सहिद मजारीमा एउटा कार्यक्रम भइरहेको बेला अन्धाधुन्दा गोली प्रहार भएको थियो । स्थानीय समयअनुसार बिहान ११:२० बजे घटना भएको अधिकारीहरूले जनाएका छन् ।

घटना भएका बेला अफगान उच्च शान्ति परिषद्का अध्यक्ष कारिम खालीलीले सम्बोधन गरिहनहनुभएको थियो । आक्रमणमा अफगानीस्तानी राष्ट्रिय प्रहरीअन्तर्गतको संकट व्यवस्थापन एकाइ (सीआरयु) का प्रहरीहरूले लगातार प्रतिआक्रमण गरेका थिए । कार्यक्रमस्थलमा सहभागीमध्ये अधिकांश राजनितिज्ञ तथा सरकारी अधिकारीहरू रहेका थिए । कार्यक्रममा सहभागी सरकारका प्रमुख कार्यकारी अब्दुलाअब्दुला, खालीली, पूर्वराष्ट्रपति हमिद कारजाइलगायतलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए ।

जिहादी नेता अब्दुल अली–मजारीको वार्षिकीका अवसरमा आयोजित स्मृतिमा आक्रमणको घटना भएको हो । आक्रमणका बारेमा यो समाचार तयार पार्दासम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।

अफगानिस्तामा गत सन् २०१९ मा मात्रै युद्धसम्बन्धी घटनामा परी तीन हजार ४०० भन्दा बढी नागरिक मारिएका छन् भने अरु छ हजार ९०० जना घाइते भएको संयुक्त राष्ट्रसंघको अपगानिस्तानस्तित नियोगले जनाएको छ ।

कोरोनाका कारण इरानमा थप १७ को मृत्यु, विश्वभर एक लाख संक्रमित

तेहरान, फागुन २४ : कोरोना भाइरसको संक्रमण तीब्र फैलिएको इरानमा शुक्रबार थप १७ जनाको मृत्यु भएको छ । योसँगै इरानमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२४ पुगेको इरानी अधिकारीले बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जोन हकिन्स विश्वविद्यालयलाई उद्धृत गदै संसारभर कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबार एक लाख नाघेको जनाएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान आठ बजेसम्म कूल एक लाख ११३ जनामा कोरोनाभाइरसको पुष्टि भएको विश्वविद्यालयकोे तथ्यांकमा उल्लेख छ ।

‘पछिल्ला केही दिनमा देशभरिमा कोरोना भाइरसबाट संक्रमितको थप संख्या एक हजार २३४ रहेको छ,’ स्वास्थ्यमन्त्री किअनोस जाहनपोरले भने । उनका अनुसार संक्रमितको कूल संख्या ४७४७ पुगेको छ । उनले भने, ‘संक्रमित भएको पुष्टि भएका यी विरामीहरू सम्भवतः दुई हप्ता अगाडि नै संक्रमित भएका र हाल उपचारका लागि अस्पताल आउँदा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।’

इरानमा कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा १५ हजार ९८० व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो । कोरोना भाइरस संक्रमित भएपछि निको भएका व्यक्तिहरूको संख्या भने ९१३ भन्दा बढी पुगेको छ ।

अधिकारीहरूका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै राजधानी तेहरानमा रहेका छन् । त्यसैले तेहरानलाई इरानमा कोरोना भाइरसको केन्द्र मानिएको छ । यसैबीच स्पेनमा थप पाँच जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै यहाँ कोरोनाभाइरसबाट संक्रमितको संख्या ३६५ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

यसअघि बिहीबारसम्म एकैदिन १०२ जनाको समूहलाई संक्रमण भएको पुष्टि गरिएको थियो । त्यस्तै यूरोपेले अर्को मुलुक नेदरल्याण्डमा पनि कोरोना भाइरसबाट संक्रमित पहिलो विरामी भेटिएका छन् । स्वास्थ्य अधिकारीहरूले ८६ वर्षीय एक वृद्धमा कोरोना भाइरसको पुष्टि भएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया