८४ वर्षीय भट्टलाई ८४ संघसंस्थाको अभिनन्दन

  फागुन २३, २०७६

काठमाडौँ, फागुन २३ : ८४ वर्षीय प्रगतिशील लेखक, समालोचक एवम् वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई ८४ सङ्घसंस्थाले आज यहाँ अभिनन्दन गरेका छन् । प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा भएको कार्यक्रममा उहाँलाई उहाँकै उचाइ पाँच फिट चार इञ्चको अभिनन्दनपत्रका साथ अभिनन्दन गरिएको हो ।

कार्यक्रममा उप्रधानमन्त्री ईश्वर पोखरेलले साहित्यकार भट्टको साहित्यिक सिर्नना उत्कृष्ट रहेको बताउनुभयो । विद्यार्थीकालमा भट्टका लेखरचनाबाट आफू निकै प्रभावित भएको उहाँको भनाइ थियो । विसं २०३६ यता भट्टका लेखरचना निरन्तर अध्ययन गर्दै आएको उहाँले सुनाउनुभयो ।

“विसं २०५० मा भट्टसित चिनजान भए पनि उहाँका लेखरचनाबाट पञ्चायतकालदेखि नै प्रभावित थिएँ”, रक्षामन्त्री पोखरेलले भन्नुभयो । पेशालाई राजनीतिबाट टाढा राख्नुपर्ने मान्यतानुसार भट्टले त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशा छाडेर राजनीतिमा होमिनुभएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भट्ट खरो स्वभावको व्यक्ति भएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले साहित्यकार भट्ट प्रेरणाको स्रोत भएको बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकार भट्ट भरपर्दो र विश्वासिलो माक्र्सवादी भएको उल्लेख गर्नुभयो । विसं २०६२÷६३ को आन्दोलनमा भट्ट र आफू आन्दोलनको मोर्चामा सँगसँगै रहेको उहाँले स्मरण गर्नुभयो ।

प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भट्टको सम्मान सबै सर्जकको सम्मान भएको बताउनुभयो । सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले साहित्य, शिक्षा र राजनीतिक क्षेत्रमा भट्टले गर्नुभएका कामले मुलुकको सामाजिक रूपान्तरणमा निकै महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँको गौरवशाली विगतबाट समाजले लाभ लिइरहेकाले सम्मान गर्न उचित ठानिएको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा भट्टकी बहिनी एवम् साहित्यकार सिर्जना शर्मा, प्रा डा अभि सुवेदी, जनसाँस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङ, नेकपा(मसाल)का साँस्कृतिक विभाग प्रमुख रामप्रकाश पुरी, डा विन्दु शर्मालगायतले साहित्यकार भट्टले साहित्य र राजनीतिमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा भट्टकी धर्मपत्नी सुशीलासमेत उपस्थित हुनुहुन्थ्यो ।

विसं १९९३ असोज २५ गते जुम्ला सदरमुकाम खलङ्गामा जन्मिनुभएका भट्टको पुख्र्यौली थलो बैतडीको दशरथ चन्द नगरपालिका–५ पल्लाचौडली हो । विसं २००८ मा माध्यमिक तहको अध्ययन सम्पन्न गर्नुभएका भट्टले २००९ सालमा काठमाडौँस्थित त्रिचन्द्र कलेजमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन थाल्नुभएको थियो । उहाँले विसं २०१२ मा शङ्करदेव क्याम्पसबाट स्नातक र २०१६ मा भारतको पटना विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन गर्नुभएको हो । विसं २००८ देखि साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयका करीब दुई दर्जन कृति प्रकाशित छन् ।

उहाँका फुटकर लेख, रचना, अन्तरर्वार्ता, चिट्ठीपत्र र दैनिकी पनि प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा र बेलायतको लन्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर भट्टले काठमाडौँको विश्वनिकेतन हाइस्कूलमा विसं २०१४ देखि २०१६ सम्म, धनकुटा डिग्री कलेजमा २०१६ देखि २०१८ सम्म र महेन्द्र डिग्री कलेज धरानमा २०१९ देखि २०२२ सम्म शिक्षण गर्नुभएको थियो ।

उहाँ विसं २०२२ देखि २०३० सम्म वीरेन्द्र इन्टर कलेज चितवनमा प्रिन्सिपल हुनुभएको थियो । विसं २०३० साउनदेखि २०४५ सम्म त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपप्राध्यापक र उपनिर्देशक उहाँले २०४५ पछि त्रिवि अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गर्नुभएको थियो । हाल उहाँ अल्जाइमर रोगका कारण कर्मशील जीवनबाट अलग्गिनुभएको छ ।

तपाईको प्रतिक्रिया