औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

  फागुन २३, २०७६

काठमाडौँ, २३ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गर्नुभयो । नेकपाका सांसद धर्मशिला चापागाईले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गर्नुभयो । उहाँले सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न माग गर्नुभयो ।

छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको सङ्क्रमण देखिएको छैन । चीनबाट आएका एक व्यक्तिमा देखिएको सङ्क्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ । बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ ।

विश्वका ८४ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ मा रोग देखिएकामा तीन हजार २८५ को मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ निको भएर घर फर्किसकेका छन् ।

भ्रष्टाचार र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग
प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न र पेट्रोलियम पदार्थको मूल्य स्वचालित दरमा राख्न माग पनि गर्नुभएको छ । नेपाली काँग्रेसका सांसद डिला सङ्ग्रौलाले कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको बताउँदै सेक्युरिटी प्रेसको विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न र भ्रष्टाचार रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काँग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दोब्बर कर बढाएको भन्दै त्यो फिर्ता गर्न माग गर्नुभयो । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय दरको आधारमा स्वचालित राख्नुपर्नेमा रु पाँच प्रतिलिटर बढी रहेको भन्दै उहाँले उक्त रकम फिर्ता गराई अपारदर्शी ढङ्गले सङ्कलन गरिएको रकमको अवस्था सार्वजनिक गर्न माग गर्नुभयो ।

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
शून्य समयमा प्रतिनिधिसभा सदस्यले दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । सांसदले मिर्गौला दिने समीक्षा सङ्ग्रौलाको साहसको उच्च प्रशंसा गर्दै सफल मिर्गौला प्रत्यारोपणले स्वदेशको अस्पताल र स्वदेशी चिकित्सकको विश्वास बढेको बताउनुभएको छ ।

नेकपाका सांसद पूर्णकुमारी सुवेदीले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै नेपालको चिकित्सा क्षेत्रको प्रशंसा गर्नुभयो । नेकपाका अर्का सांसद नवराज सिलवालले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर नेपालको औषधि विज्ञानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले ‘मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीको ओलीको नेतृत्व अझै आवश्यक छ’ भन्नुभयो । नेकपा सांसद देवप्रसाद गुरुङले प्रधानमन्त्रीको शीघ्रस्वास्थ्य लाभको कामना गर्दै आउँदै गरेको महिला दिवसको अवसरमा समेत शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया