डोटी, फागुन २३ : पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमान्वाट विभिन्न पीडा पाउन थालेपछि उनीहरू त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ ।
दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले विवाह दर्तामा महिलाको अग्रसरता बढेको जानकारी दिए । जिल्लास्थित अल्पकालीन सेवा संघका प्रमुख देवकी बोहराले भने, ‘आफ्नो पहिचान र अधिकारका लागि महिला नागरिकता लिन थालेका छन् । व्यक्तिगत घटना दर्ता गर्नेको संख्या वढेको छ । यो आफैँमा राम्रो पक्ष हो ।’
विवाह दर्ता गराउनेको संख्या बढेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय शारदा नेपालीले बताए । उनले भने, ‘श्रीमान्सँगको सम्बन्ध र सम्पत्तिको अधिकारका लागि भए पनि महिलाले विवाह भएलगत्तै विवाह दर्ता र नागरिकता बनाउनु जरुरी भएको छ ।’ यहाँको दिपायल सिलगढी नगरपालिकामा गत आर्थिक वर्षमा विवाह दर्ता गर्नेको संख्या २५० थियो । चालू आवको माघ मसान्तसम्ममा एक हजार २०० भन्दा बढी पुगेको जनाइएको छ ।
पञ्जिकरण शाखा प्रमुख बुद्धिसिंह खड्काका अनुसार विवाह दर्ता गर्न आउनेको संख्या बढिरहेको छ । विवाह दर्ता गर्न नागरिकता अनिवार्य चाहिने भएकाले पनि नागरिकताको सिफारिस लिन आउनेको चाप बढेको उनले बताए । नगरक्षेत्रमा आफ्नो अधिकारका लागि महिलाहरू पछिल्लो समय निकै सचेत बन्दै गएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले बताए । उनले भने, ‘विगतका वर्षभन्दा अहिले यहाँका महिलाहरू निकै सचेत तथा आफ्ना कामका लागि अग्रसर हुने गरेको हामीले पाएका छौँ ।’