खजुरामा शीत भण्डार बन्ने : किसान खुशी

  फागुन २३, २०७६

राँझा, फागुन २३ : बाँकेको खजुरा गाउँपालिकाले गौरवको योजनाका रूपमा शीत भण्डार निर्माण शुरु गरेको छ ।

खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा जमिनमा  बन्ने सो भण्डारको एक हजार ५०० मेट्रिक टन कृषि उपज भण्डारण क्षमता रहने गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए ।  उहाँका अनुसार, ९ करोड लगानीमा तयार हुने भण्डारको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । प्रदेश सरकार, गाउँपालिका र सहकारी सञ्जालको संयुक्त सहकार्यमा बन्ने भण्डारले खजुरा क्षेत्रलाई कृषि प्रवद्र्धनमा थप  सहयोग पुग्ने जनाइको छ । ५ नम्बर प्रदेश सरकारले पाँच करोड गाउँपालिकालाई निकासा गरिदिएको जनाइएको छ

बाँकी चार करोडको ५१ प्रतिशत गाउँपालिकाले लगानी गर्ने र ४९ प्रतिशत खजुरामा रहेका क्रियाशील सहकारी सञ्जालले लगानी गर्ने सहमति भएको छ,’ अध्यक्ष कक्षपतिले भने, ‘साझेदारी नमूनाका रूपमा निर्माण भइरहेको शीत भण्डारका लागि गाउँपालिकाले नयाँ नीति बनाई व्यवस्थापन र सञ्चालन गर्ने विधिमा अगाडि बढेको छ ।’

सो गाउँपालिका योजना प्रमुख दिलबहादुर पौडेलले पहिलो चरणमा दुई करोड ७८ लाख बराबरको कम्पाउण्ड पर्खाल र ढाँचा आगामी वैशाखसम्म निर्माण गरिने लक्ष्य रहेको जानकारी दिए । गाउँपालिकाको वडा नं ३ को बीगाउँ, केगाउँ र वडा नं २ को सीगाउँ, गौघाटलगायतका क्षेत्रमा बढी व्यावसायिक तरकारीखेती हँुदै आएको अगुवा कृषक लालबहादुर खत्रीले बताए ।

तपाईको प्रतिक्रिया