आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने दिन गए

  फागुन २३, २०७६

बलेवा, फागुन २३ : समथर जमिन र  बाक्लो बस्ती  । खानेपानीको सधैँ चरम अभाव । नजिकै कालीगण्डकी र धापेखोलाको सलल बगेको  पानी हेरेर बागलुङ नारायणस्थान स्थानीयवासी लामो समयदेखि चित्त बुझाउनुपर्ने अवस्था  ।

हाल बागलुङ नगरपालिका–१४ को सो स्थानमा पानीका मुहान छैनन् । छिमेकी अमलाचौरको धापेखोला र पैञ्युपाटाको राधापानी मुहानबाट ल्याएको पानीले यहाँका सर्वसाधारणको दैनिकी मुश्किलले चलिरहेको छ । खानेपानीको सास्ती खेप्दै आएका सो स्थानका सर्वसाधारणको दैनिकी अब भने फेरिने भएको छ । कालीगण्डकी तटमा रहेका मुहानलाई एकीकृत गरी त्यहाँ पानी पु¥याइएपछि सर्वसाधारणको दैनिकी फेरिने भएको हो ।

जिल्लामै पहिलोपटक खानेपानीका लागि लिप्mटिङ प्रविधि भित्राइएपछि  अब भने घरघरमै पानी आउने भएको छ । चैत्रभित्रै त्यहाँ घरघरमा कालीकिनारको पानी पुग्ने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए । आँखाले कालीतिरको पानी हेरेर प्यास मेट्ने गरेका यहाँका सर्वसाधारणले त्यही पानीले घाँटी भिजाउने दिन आएकोे गार्लुङ गाउँका स्थानीय होमनाथ शर्माले बताए ।

नेपाल सरकारको सहलगानी कार्यक्रमअन्तर्गत यो योजना सम्पन्न भएको हो । कालीगण्डकी तिरबाट ३९० मिटरको सिधा उचाइमा पर्ने पानी ट्यांकीमा दुई हजार ७०० मिटर दूरीको पाइपले पानी तान्नेछ । मुहान र पाइपलाइनको मध्यभागमा दुई वटा मोटर जडान गरेर मुख्य ट्यांकीसम्म पानी पु¥याइएको अध्यक्ष खत्रीले बताए ।

यो योजना निर्माण गर्नका लागि झण्डै आठ करोडभन्दा धेरै खर्च भएको छ । सुरुआती लागत भने १० करोड माथिको थियो । ६ करोड ६२ लाखमा चन्द्र एण्ड वसन्त निर्माण कम्पनीले निर्माण गरेको यो योजना उपभोक्ता समितिको श्रमदान र नगद लगानीमा बनेको हो । विसं २०७३ मा शुरु भएको निर्माणको काम कम्पनीले एक वर्ष म्याद थपेर गत असारभित्र सम्पन्न गरेको थियो । उपभोक्ताले गर्नुपर्ने र विद्युत् जडानलगायतका केही काम बाँकी रहेकाले आगामी चैतभित्रै पानी वितरण गर्नेगरी काम भइरहेको संस्थाका सचिव नारायण श्रेष्ठले जानकारी दिए ।

कूल लागतको ७० प्रतिशत सरकारको, २० प्रतिशत जनश्रमदान र १० प्रतिशत उपभोक्ताको लगानीमा यो योजना निर्माण भएको हो । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका एक हजार ५२५ घरघुरीका करिब पाँच हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।  योजनामार्फत ३० हजार २०२ मिटर पाइप लाइन विछ्याउने काम भएको छ भने एक हजार २५ धारा निर्माण गरिनेछ । योमध्ये ९५० भन्दा धेरै धारा जडान भइसकेको संस्थाले जनाएको छ । विद्युत्को परीक्षण र प्रसारको काम मात्रै बाँकी रहेकाले विद्युत् प्राधिकरण वितरण केन्द्र कुश्मा र बागलुङले काम सक्दाको भोलिपल्ट उपभोक्ताको धारामा पानी खस्ने अध्यक्ष खत्रीको भनाइ छ ।

एक घर एक धारा चौबिसैँ घण्टा पानी आउँछ’ उनले भने ‘२० बर्षसम्म हामीले अहिले तानेको पानीले धान्छ ।’ यो योजना सो स्थानका नौवटै र पैयुँपाटाका ८ र ९ वडामा सञ्चालन भएको छ । अहिले प्रतिसेकेण्ड ८ लिटर पानी तान्ने छ ।  यसभन्दा पहिले धारापानीबाट २ दशमलव ५ र धापेखोलाको पानी ३ लिटर प्रतिसेकेण्ड ट्यांकीमा जम्मा हुने गरेको छ । तीनवटै पानीलाई एकीकृत गरेर उपभोक्तालाई वितरण हुनेछ । उक्त खानेपानी योजनाअन्तर्गत पानी परीक्षण प्रयोगशाला, कार्यालय भवनसँगै २० वटा भल्भ च्याम्बर निर्माण भएका छन् ।

तपाईको प्रतिक्रिया