वैदेशिक व्यापारमा अस्थायी प्रभाव पर्ने : चीन

  फागुन २३, २०७६

बेइजिङ, २२ फागुन : महामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको वाणिज्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।

वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका निर्देशक ली जिंगकियानले भिडियोमार्फत गरिएको एक पत्रकार सम्मेलनमा भन्नुभयो, “चीनले विदेशी व्यापार उद्यमलाई उत्पादन पुनः शुरु गर्न र प्रकोपबाट हुने नतिजालाई कम गर्न प्रक्रियालाई जारी राखेको र छिट्टै सबै ठीक हुनेछ ।”

उहाँले भन्नुभयो, “झेजियांग र तियानजिनका सबै प्रमुख विदेशी व्यापार कम्पनीहरूले फेरि काम शुरु गरेका छन् भने गुआङडोङ, जियाङ्सु, साङ्घाई, शान्दोङ र चोङ्किङका ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार कम्पनीहरूले उत्पादन पुनः शुरु गरिसकेका छन् ।”

“सरकारले कम्पनी सञ्चालनका लागि गरेको सहयोगको नीति प्रभावकारी बन्न थालेकाले धेरैभन्दा धेरै कम्पनीहरू काममा फर्किएका छन् भने चीनको वैदेशिक व्यापारले क्रमशः गति लिन थालेको छ,” लीले भन्नुभयो ।

“यद्यपि पहिलो त्रैमासिकमा चीनको निर्यात र आयात दुवैमा कम हुनेछ,” लीले भन्नुभयो । देशको वैदेशिक व्यापारको सकारात्मक विकासको प्रवृत्ति परिवर्तन हुन स्वभाविक रूपमा लामो समय लाग्छ ।

“मन्त्रालयले आफ्नो नीतिगत प्रणालीलाई अझ समृद्ध बनाउने छ, विदेशी व्यापार उद्यमहरूलाई थप सटिक उपायहरू प्रदान गर्न सहयोग पु¥याउने छ, उत्पादन पुनः शुरु गर्न र विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता कायम गर्न मद्दत गर्नेछ,” लीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया