संयुक्त राष्ट्रसङ्घ पूर्वमहासचिव क्वेलरको निधन

  फागुन २३, २०७६

लिमा, २२ फागुन : संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ ।

उहाँका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो ।

दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव हुनुभएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँकै कार्यकालमा इरान र इराकबीच झण्डै आठ वर्षको शसस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरुप दुबै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति प्रकाशन गरी पूर्वमहासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखित भएको बताउनुभयो ।

“उहाँ परिपक्व राजनेता, निष्ठावान कूटनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले देखाएको बाटो र प्रभाव राष्ट्रसङ्घमा अद्यापी अनुभव गर्न सकिन्छ,” गुटेरेसले भन्नुभएको छ ।

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले ट्वीट गर्दै पूर्वप्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी रहनुभएको र उहाँको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताउनु भएको छ ।

क्वेलरले आफ्नो जीवनकालमा युरोप र दक्षिण अमेरिकाका मुलुकमा रहेका पेरुका दूतावासमा सेवा गर्नुका साथै सन् १९४६ मा राष्ट्रसङ्घीय महासभामा पेरुको प्रतिनिधिमण्डलमा समावेश हुनुहुन्थ्यो ।

राष्ट्रसङ्घ सुरक्षा परिषदको अध्यक्षतामा बसेको बैठकले सन् १९७४ मा टर्की र ग्रीसबीच शान्ति सम्झौता गराएको थियो । त्यसबखत टर्कीले आक्रमण गरी साइप्रसमाथि आधिपत्य जमाएको थियो ।

सन् १९८१ मा उहाँ संयुक्त राष्ट्रसङ्घको पाँचौं महासचिवमा नियुक्त हुनु भएको थियो । दक्षिण अमेरिकी क्षेत्रबाट उहाँ नै पहिलो महासचिव बन्नु भएको थियो । यसै अवधिमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो ।

सन् १९९१ मा दोस्रो कार्यकाल समाप्त हुनुअघि उहाँको अग्रसरतामा पश्चिम सहारा क्षेत्रमा व्याप्त तनाब समाप्त भएको थियो भने एल साल्भाडोर, क्याम्बोडिया र निकारागुवामा जारी गृहयुद्ध रोकिएको थियो ।

उहाँ महासचिव रहेकै दिनमा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएको थियो भने दक्षिण अफ्रिकाबाट नामिबियाले स्वतन्त्रता प्राप्त गरेको थियो ।

सन् २००० मा पेरुका राष्ट्रपति फुजिमोरीले राजीनामा दिएपछि पेरेज दी क्वेलरले केही समय पेरुको विदेश मन्त्री र प्रधानमन्त्रीका रुपमा काम गर्नु भएको थियो । उहाँकै नेतृत्वमा चुनाव सम्पन्न भएपछि पेरुको राष्ट्रपतिमा अलेजान्द्रो टोलेडो निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपति टोलेडोले उहाँलाई फ्रान्सका लागि पेरुको राजदूतमा नियुक्त गर्नु भएको थियो । क्वेलरको यही शुक्रबार दाहसंस्कार गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया