कोरोना भित्रिन नदिन सावधानी : अत्यावश्यक वस्तु आपूर्तिमा सरकार सजग

  फागुन २२, २०७६

नारायण ढुङ्गाना
काठमाडौँ, २२ फागुन

सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउ थालेको छ । मास्क औषधिलगायत अत्यवश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै, स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ ।

विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरूपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

सिंहदरबारमा आज बसेको उच्चस्तरीय समन्वय समितिको दोस्रो बैठकले छिमेकी मुलुकमा समेत फैलिएको कोरोना भाइरस नेपालमा भित्रिनसक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अपनाउने समितिका संयोजकसमेत रहनुभएका मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “बाहिरबाट आएकालाई व्यवस्थितरूपमा जाँच गर्ने, सङ्क्रमण प्रभावित व्यक्ति भरसक आउन नदिने, आएका व्यक्तिको ठिक ढङ्गले जाँच गर्ने, जनसचेतना कार्यक्रमलाई तीव्ररूपमा अघि बढाइने छ ।” उहाँले बैठकमा यसअघि गरिएका प्रयासका विषयमा समीक्षा गरिएको जानकारी दिनुभयो ।

छिमेकी मुलुकसहित विश्वका विभिन्न ८४ देशमा कोराना भाइरसको संक्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ जनामा रोग देखिएकोमा तीन हजार २८५ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० जना उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा गत माघ ९ गते चीनको सबैभन्दा बढी संक्रमण फैलिएको उहान प्रान्तबाट आएका एक जनामा संक्रमण देखिएका थियो । उनी अहिले कोरोनामुक्त रहेको र त्यसपछि अहिलेसम्म नेपालमा कुनै संक्रमण नदेखएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयसँग सम्बन्धीत गर्नुपर्ने काममा बढी ध्यान दिनसमेत बैठकले निर्देशन दिएको छ । सरकारले यसअघि नै धेरै सङ्ख्यामा उपस्थित भएर गर्ने कार्यक्रमहरू नगर्न भनिसकेको छ । विद्यालयमा विशेष ध्यान दिँदै स्वास्थ्य परीक्षणमा थप प्रभावकारी बनाउने विषयमा समत छलफल भएको छ ।

बजारमा मास्क अभाव हुने सम्भावना रहेकाले उद्योग वाणिज्य महासङघसँगको समन्वयमा तत्कालै उत्पादन गर्ने विषयमा सरकार गम्भिर रहेको मन्त्री पोखरेलले बताउनुभयो । “सस्तोमा मास्क उत्पादन गर्न छलफल भइरहेको छ, अनुदान दिनुपर्ने विषयमा पनि राज्य गम्भिर छ”, मन्त्री पोखरेलले बैठकपछि पत्रकारसँग भन्नुभयो, “राज्यले कुनै पनि वस्तुको अभाव हुन दिँदैन, अभाव नहोस् भन्नेमा सावधानी अपनाएको छ ।”

भारतले केही औषधी र कच्चापदार्थ निर्यातमा प्रतिवन्ध लगाएको भन्ने विषयमा पत्रकारले सोधेको जिज्ञासामा मन्त्री पोखरेलले नेपाललाई अत्यावश्यक भएको औषधी उपलब्ध गराउन भारत सहमत रहेको जानकारी गराउनुभयो । महत्वपूर्ण घडीमा आपूर्तिको विषयमा केही समस्या देखिने उल्लेख गर्दै मन्त्री पोखरेलले आपूर्ति व्यवस्था मिलाउने र अनुगमन गर्ने विषयमा सरकार गम्भीर छ भन्नुभयो ।

बजारको अबस्था मुल्याङ्कन गरी तत्काल गर्नुपर्ने विषयमा सरकराले यसअघि नै मुख्य सचिवको नेतृत्वमा एक्सन कमिटी गठन गरिसकेको छ । उच्चस्तरिय समन्वय समितिलाई नीतिगत निर्णय गर्ने अधिकार समेत छ । समितिले निर्णय गरेर कार्यान्वयन गर्न एक्सन कमिटीलाई निर्दशन दिनसक्छ ।

चीनबाट संक्रमण फैलिएको कोरोना भाइरसबाट विश्वका कुनै पनि मुलुक सुरक्षित नभएको विश्व स्वास्थ्य सङ्गठनले बताइसकेको छ । नेपाललाई उच्च जोखिममा राखेको छ । विकासोन्मुख र उच्च जोखिममा रहेको मुलुकलाई विश्व बैंकले सहयोग गर्ने घोषणा गरिसकेको छ । आजको बैठकले विश्व बैंकले गर्ने सहयोग लिने निर्णय समेत गरेको छ ।

बैठकलले विमान कम्पनीलाई डिक्लेरेशन फर्म भर्न लगाउने, सीमा आवागमन घटाउने, थप स्वास्थ्य टोली परिचालन गर्ने, प्रदेश र स्थानीयतहलाई आपूर्ति व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै निकासी नियन्त्रण गर्ने, लागत सहभागितामा मास्क उत्पादन गर्ने, क्रस बोर्डर बैठक बस्ने, सीमा नाकामा क्वारेन्टाइन भवन व्यवस्थापन गर्ने, संक्रमित मुलुकमा स्वास्थ्य चेतना बढाउने, क्वारेन्टाइन भवन कायम राख्नेलगायत निर्णय भएको रक्षा मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया