बाटो बन्द

  फागुन २२, २०७६

दमौली, २२ फागुन : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट मार्ग बुधबारदेखि बन्द गरिएको छ । मानहुँकोट नजिकै रहेको पहरामा ढलान गर्नका लागि निर्माण कम्पनीले उक्त मार्ग बन्द गरेको हो । मानहुँकोट मार्ग कालोपत्रे गर्नका लागि निर्माण कम्पनी रानीवन कन्स्ट्रक्सन काठमाडौले तयारी थालेको छ । पहिलो चरणमा अप्ठ्यारो रहेको उक्त पहरामा ढलान गरिने र ढलान सम्पन्न भएपछि अन्य ठाउँमा कालोपत्रेको काम शुरु गरिने सो कम्पनीका सञ्चालक केशव ढुङ्गानाले जानकारी दिए ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीअन्तर्गत निर्माण भइरहेको उक्त सडकको करिब ४०० मिटर भाग आरसिसी ढलान गर्न लागिएकोले उक्त मार्ग डेढ महीनाका लागि बन्द हुनेछ । उक्त मार्ग बन्द हुने बारे व्यास नगरपालिकाको कार्यालयलाई जानकारी गराइएको र उक्त जानकारीको बोधार्थ वडा नं ५ को कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पनि दिइएको छ ।

सङ्घीय सरकारको बजेटमार्फत् मानहुँकोट जाने बाटो कालोपत्रेका लागि करिब पाँच किलोमिटर नाला निर्माण सम्पन्न भइसकेको छ । पाँच किलोमिटर सडक कालोपत्रेका लागि ग्राभेल गर्ने कामलाई समेत अगाडि बढाउन लागिएको उनले बताए । चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गरिसक्ने लक्ष्य छ । सोही वडाको चापाघाटदेखि अलैचेसम्मको डेढ किमि सडक पहिल्यै कालोपत्रे भइसकेको छ । व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानहुँकोटसम्म कालोपत्रे सडक भएपछि पर्यटकको सङ्ख्या थप वृद्धि हुने बताए । उक्त मार्ग बन्द भएपनि पैदलयात्रामार्फत मानहुँकोट जानेहरूलाई भने कुनै समस्या नरहेको उनले जानकारी दिए । ‘ढलान गर्न लागिएको ठाउँसम्म सवारीसाधनमै जान सकिन्छ, त्यहाँबाट १०÷१५ मिनेटको पैदलयात्रा गरेर मानहुँकोट जानलाई अवरोध हुँदैन’, उनले भने ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको मानहुँकोट जाने कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै बढ्ने विश्वास छ । अहिले सो स्थानमा दैनिक दुई÷तीन सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सो स्थानबाट आँखै अगाडि पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । मानहुँकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।

मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरू देख्न सकिन्छ । मानहुँडाँडा आफँैमा एउटा दृश्यावलोकन स्तम्भ (भ्युटावर) हो । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमो २५ लाख र वडा कार्यालयको पाँच लाखको लागतमा रेलिङ निर्माण गरेको छ ।

तपाईको प्रतिक्रिया