सेक्युरिटी प्रेस र स्याटलाइट अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट

  फागुन २२, २०७६

काठमाडौं, २२ फागुन : सरकारले सेक्युरिटी प्रेस तथा स्याटलाइट खरिदसम्बन्धी विवादास्पद प्रक्रिया रोक्ने भएको छ । खरिद अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट हुने सरकारले जनाएको छ । बुधबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा शपथ लिएका युवराज खतिवडाले पदभार ग्रहण गर्दै पारदर्शी रूपमा खरिद प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जिटुजी (सरकार–सरकार)माध्यमबाट सेक्युरिटी प्रेस खरिद प्रक्रिया अघि बढाएर भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पद छोड्नुपरेको थियो । 

स्विस कम्पनी केबिए नोटासिसका एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले ८ फागुनमा राजीनामा दिएका थिए । भ्रष्टाचारको आरोप लागेर बाँस्कोटाले राजीनामा दिएपछि उनको ठाउँमा खतिवडालाई ल्याइएको हो । 

‘आज मैले पदभार ग्रहण गरिरहँदा एउटा कुरा भन्नैपर्ने हुन्छ, त्यो के भने हाम्रा जति पनि पूर्वाधार निर्माणसँग सम्बन्धित खरिद छन् ती सबै पूर्ण प्रतिस्पर्धाको आधारबाट पारदर्शी ढंगले गर्ने हो,’ उनले भने, ‘चाहे त्यो सेक्युरिटी प्रेस होस्, चाहे स्याटलाइट या फ्रिक्वेन्सी अक्सन, अब यी सबै खरिद प्रतिस्पर्धाबाटै पारदर्शी ढंगले गर्ने हो ।’ सरकारले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय वा राष्ट्रिय बोलपत्रमार्फत पूर्वाधार निर्माणसँग सम्बन्धित खरिद गर्ने उनले बताए । 

‘हामीले हाम्रो स्वविवेकीय अधिकार प्रयोग गरी असल मनसायले काम गर्दा पनि बारम्बार विवादमा पर्ने विगतका अनुभवले देखाएको छ,’ उनले भने, ‘स्पष्ट विधि अपनाएर प्रतिस्पर्धी र पारदर्शी ढंगले काम अघि बढाउने हो, यसो गर्दा सबैलाई स्वीकार्य हुन्छ र हामी पनि विवादरहित हुन्छौँ ।’ 

मन्त्रिपरिषद्को ७ पुस ०७६ को बैठकले फ्रान्सको आइएन ग्रुप र जर्मनीको भेरिडोसमध्ये एक कम्पनीबाट सेक्युरिटी प्रेस खरिद गर्न सञ्चार मन्त्रालयलाई सहमति दिएको थियो । तर, अर्थ तथा सञ्चारमन्त्री खतिवडाले अब अन्तर्र्राष्ट्रिय प्रतिस्पर्धाबाट मात्रै सेक्युरिटी प्रेस खरिद गर्ने बताएपछि जिटुजी प्रक्रिया रद्द हुने भएको छ । 

निष्ठा, इमानदारी र दृृष्टिकोण हेरेर पुनर्नियुक्ति 

राष्ट्रिय सभाको आफ्नो दुईवर्षे कार्यकाल सकिएपछि मंगलबार खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए । २४ घन्टा नबित्दै उनलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ खुवाएकी हुन् । दोस्रोपटक सिंहदरबार प्रवेश गरेपछि उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसारको दोस्रो कार्यकाल भन्दा हुन्छ, बाँकीचाहिँ २४ घन्टापछिको निरन्तरता भने पनि हुन्छ ।’ उनले आफ्नो निष्ठा, इमानदारी र विकासप्रतिको दृष्टिकोणका कारण पुनः मन्त्री पदमा नियुक्ति दिइएको बताए । ‘मेरो निष्ठा, इमानदारी र मेरो विकासप्रतिको दृृष्टिकोणलाई अघि बढाएर मुलुकले केही न केही फड्को मार्न सक्छ भन्ने विश्वासका साथ मलाई पुनर्नियुक्ति दिइएको हो,’ उनले भने, ‘त्यसैले मलाई थप दायित्व र जिम्मेवारीबोध भएको छ ।’ 

कमान्डरले नबोलाएसम्म फिर्ता हुन्नँ

अर्थमन्त्री डा. खतिवडाले आफू योद्धा भएको बताउँदै कमान्डरले फिर्ता नबोलाउँदासम्म आफ्नो कार्यकाल बाँकी भइरहने बताए । ‘मेरो कार्यकाल कहिले सकिन्छ भन्ने हिसाबकिताब अहिल्यै गर्ने वेला भएको छैन,’ उनले भने, ‘म योद्धा हुँ, लडाइँ नहार्दासम्म वा कमान्डरले नबोलाउँदासम्म युद्धस्थलमा भइरहन्छु ।’ 

तपाईको प्रतिक्रिया