गोरखामा जनप्रतिनिधि र कर्मचारी चढेको जिप दुर्घटना, वडा सचिवको मृत्यु, ७ घाइते

  फागुन २२, २०७६

गोरखा, २२ फागुन : गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा बुधबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य सात जना घाइते भएका छन् । 

आरुघाटबाट धार्चे गाउँपालिका-६ काशीगाउँतर्फ जाँदै गरेको ग १ ज ५५०५ नम्बरको जिप मान्बुको धोरत जंगलमा दुर्घटना हुँदा लमजुङ बाहुनडाँडाका घर भएका धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज सुक बहादुर विकले बताए ।

घाइते हुनेहरुमा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ, निशा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, केयरसिङ गुरुङ, सुरज नेपाल र शर्मिला गुरुङ रहेको इन्चार्ज विकले जानकारी दिए । घाइतेमध्ये चालक बालचन्द्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । 

मान्बुकै स्थानीय स्वास्थ्य चौकीमा घाइतेहरुको उपचार भइरहेको छ । धार्चे गाउँपालिका–६ काशीगाउँमा जेष्ठ नागरिक अपाङ्गता परिचय पत्र वितरण गर्न गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी टोली त्यसतर्फ लागेको थियो ।  नयापत्रिकाबाट साभार

तपाईको प्रतिक्रिया