‘कर्णाली उत्सव’मा साहित्यकार

  फागुन २१, २०७६

सुर्खेत, २० फागुन (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष तथा साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले कर्णालीको संरचनागत अध्ययन नभएको बताउनुभएको छ । कर्णाली उत्सव मूल आयोजक समितिद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव’ को आज दोस्रो दिनको ‘कर्णाली कोट्याउँ’ शीर्षकअन्तर्गत पत्रकार विमल आचार्यको सहजीकरणमा ‘कर्णालीका कथा’ उपशीर्षकमा भएको बहसमा अध्यक्ष ‘श्यामल’ ले हालसम्म कर्णालीको अध्ययन मनोगत तबरबाट भएको बताउनुभयो ।

“कर्णालीको नाम नदी सभ्यताबाट जोडिएको छ”, उहाँले भन्नुभयो, “यसबारे राष्ट्रगुरु योगी नरहरिनाथले लेख्नुभएको ‘शिखरणी यात्रामा’ पनि धेरै पाउन सकिन्छ ।” यहाँका बारेमा अहिलेसम्म लेखिएका कुरा दैनिकी टिपोट मात्र भएको अपितु, समाजसँग संवाद गरेर वास्तविक कुरा कोही कसैले नल्याएको अध्यक्ष अधिकारीले जिकिर गर्नुभयो ।

राजनैतिक नराम्रो उन्माद्का कारण हाम्रो भाषा संस्कृति बिग्रिएको बताउँदै उहाँले अहिले बोलिएको स्तरीय भाषा नै जुम्ली खसभाषा भएको दाबी गर्नुभयो । उहाँका अनुसार ‘राईझुमा’ सुदूरपश्चिमको नभई जाजरकोटको बारेकोटबाटमा जन्मेकी सात वर्षकी चेली ‘राईझुमा’ हुम्ला विवाह गरेको कारुणिक कथाको दृष्टान्त हो । जितारी मल्लले तीन पटक काठमाडौँ आक्रमण गरेको इतिहास बताउनुभएका उहाँले शक्तिशाली खस राज्यको वास्तविकता बाहिर आउन नसकेको औँल्याउनुभयो ।

लेखक तथा साहित्यकार उषा हमालले मूल नेपाली भाषा नै भाषिकामा खुम्च्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाग्रीको पानी कटौरामा हालेर सीमित गरिँदैछ । यसले हाम्रा मूल भाषा नै लोप भएर जाने खतरा नजिकिँदै छ ।” विसं २०६८ को तथ्याङ्कमा कर्णालीमा ५५ भाषा र त्यसमा खसभाषा ३३ नम्बरमा रहेको र खसभाषा १८ जनाले मात्र बोल्छन् भनेर उल्लेख हुनु सान्दर्भिक नभएको बताउँदै विसं .२०७८ मा यसको विषयमा सघन छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी उक्त बहसमा लेखक इन्दिरा शाहले कर्णाली संसारकै जेठो सभ्यता भएको बताउनुभयो । यस विषयमा धेरै लेखक तथा साहित्यकारहरुले लेखेपनि विशेषगरी यहाँका महिलाको जीवनमा खासै परिवर्तन हुन नसकेको उहाँले जनाउनुभयो । योगी नरहरिनाथ, सौभाग्यजंग शाह, डोरबहादुर विष्ट, रत्नाकर देवकोटालाई स्मरण गर्दै उहाँहरुले लेखेका कृतिहरुले कर्णालीको प्रष्ट चित्र बुझ्न सकिने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया