सरसफाइपछि क्वारेन्टाइन प्रजिअको जिम्मा

  फागुन २१, २०७६

भक्तपुर, २१ फागुन : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा सरकारले बनाएको क्वारेनटाइनमा १६ दिनको बसाइ सकेर चीनबाट उद्धार गरी ल्याइएका नेपाली फर्किए पनि आज त्यहाँ दिनभरी नै चहलपहल भइरह्यो ।

क्वारेन्टाइनमा सोमबार ढिला भएर घर फर्कन नपाएका ३२ जनालाई आज नेपाली सेनाको वीर दल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरीले बिदाइ गरी पठाएका थिए । चारवटा गाडीमा उनीहरुलाई राखेर पठाएपछि सरसफाइमा लागेको वीर दल गण नेपाली सेनाको टोलीसहित सुरक्षाकर्मी अपरान्ह् तिर अचम्ममा परे ।

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, नेपाली सेनाको वीर दल गणका गणपति शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटका प्रहरी उपरीक्षकको नेतृत्वमा सरसफाइ र टेण्टहरु निकाल्ने, टेबलकुर्सी स्थानान्तरण गर्ने काममा सुरक्षाकर्मी व्यस्त भइरहदा क्वारेन्टाइनमा अचानक फेरी नेपाली टोली आएपछि सुरक्षाकर्मी अचम्ममा परे ।

हातमा फुलका बुकी, खादा र सम्मानपत्र लिएर आउने उनीहरु अरु कोही नभएर १६ दिन क्वारेनटाइनमा बसेको चीनबाट फर्किएका नेपालीका अभिभावक थिए । चीनबाट फर्किएका सविरकुमार श्रेष्ठकी आमा विमलालगायत करिब १६ जना अविभावकले क्रमशः प्रजिअ पाण्डे, नेपाली सेनाका डा नवीन फुँयाललाई प्रशंसापत्र प्रदान गरेका थिए भने सबै सुरक्षाको नेतृत्व लिनेलाई खादा र बुकी दिँदै धन्यवाद व्यक्त गरेका थिए ।

चीनबाट फर्किएकाको १६ दिनसम्म क्वारेन्टाइनमा राम्रो देखदेख गरेको खुसीयालीमा सुरक्षाकर्मी र डाक्टरलाई धन्यवाद दिन र खुशीमा प्रशंसापत्र वितरण गर्न अभिभावक आएको नेपाली सेनाका वीर दल गणका गणपति शिव पौडेलले जानकारी दिनुभयो । क्वारेन्टाइन निर्माण गरेदेखिको चिन्तालाई अहिलेको खुशीले बिर्साइदिएको उहाँले बताउनुभयो । पौडेलले आजै क्वारेन्टाइनको सबै सरसफाइ सकेर ताल्चा मारेर प्रजिअ पाण्डेलाई यहाँको साँचो बुझाएको कर्णेल पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया