आहा रारा गोल्ड कप बिहीबारदेखि

  फागुन २१, २०७६

पोखरा, २१ फागुन : सहारा क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले यस वर्षको खेलमा विदेशी एकसहित १० टोली सहभागी हुने जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा रु एक करोड १८ लाख आम्दानी र रु एक करोड खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सहारा क्लबले यस वर्ष राष्ट्रिय टिमका खेलाडी सुजल श्रेष्ठलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ । सहाराले हरेक वर्ष फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ । श्रेष्ठलाई रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिने छ । प्रतियोगिता आगामी चैत १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया