राष्ट्रियसभामा अझै सहकार्य आवश्यक

  फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : दुई वर्षे अवधिमा राष्ट्रियसभामा सत्तापक्ष र प्रतिपक्षका बीच सहमति र सहकार्यका आधारमा अघि बढेकाले आगामी दिनमा अझ सुदृढ सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । आजैदेखि सभाबाट बिदाइ हुन लाग्नुभएका एकतिहाइ सांसदको बिदाइमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताले प्रबुद्ध सभाका रुपमा अझै दरिलो सहकार्य गरिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले संसद् सफल बनाउन प्रमुख प्रतिपक्षीले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सहयोगी संस्कृति निर्माण हुन सकेको बताउनुयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि आफ्नै देशको अस्पताल र चिकित्सक छनोट गर्नु उच्च मनोबलको उदाहरण भएको उहाँले बताउनुभयो । देशमा दक्ष जनशक्ति भएकाले उपचार देशमै हुनसक्छ भन्ने सन्देश प्रवाह भएको छ ।

कोरोना भाइरसबाट पीडित भई निधन भएका विभिन्न देशका मानिसप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै नेता शर्माले कोरोनाका विरुद्ध चेतना अभिवृद्धिमा सांसद र संसद् लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभालाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको बताउनुभयो । दुई वर्षे अवधिमा केही अपवादबाहेक सहमति र सहकार्यमै काम गरिएको उहाँको समीक्षा थियो ।

“विवादास्पद विधेयकलाई पनि सामूहिक छलफल र प्रयासबाट परिमार्जन गर्न सफल भइयो, मिडिया काउन्सिल र राहदानी विधेयकलाई सबैले अपनत्व गर्न सक्ने गरी अघि बढाउन सफल भयौँ, यसो हुनुमा सभाको नेतृत्वको सहयोगी भूमिका रह्यो”, उहाँले भन्नुभयो ।

दूरदराजमा स्वास्थ्य, शिक्षालगायत समस्याबाट छटपटाइरहेका मानिस रहेकाले दलीय स्वार्थभन्दा माथि उठेर सांसद र सभाले सोच्नुपर्नेमा सांसद पाण्डेले जोड दिनुभयो । चुनावमा जुन आशा लिएर जनताले मतदान गरेका थिए त्यो पूरा हुन नसकेकामा निराशामा बदलिएकोतर्फ सत्तापक्षको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

निराशा कायम रहे लोकतन्त्र र स्वतन्त्रताका लागि फेरि अर्को पुस्ताले पनि लड्नुपर्ने दिन आउने भएकाले सार्वभौम संसद् बेलैमा सचेत हुनुपर्नेतर्फ सांसद पाण्डेले ध्यानाकर्षण गराउनुभयो । एक व्यक्तिको इच्छापूर्तिका लागि संविधान संशोधन गर्नुुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) का नेता वृशेषचन्द्र लालले लोकतान्त्रिक संस्कृतिको पालना गर्दै आगामी दिनमा पनि सभा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । दुई वर्षसम्म सभामा सत्ता र प्रतिपक्षको अनुभूति नभएको उहाँको अनुभव थियो । सदनको विधायिकी, देश र जनता एवं निर्वाचन क्षेत्रगत भूमिका पनि रहेको सांसद लालले बताउनुभयो । परिपक्वको सभा राष्ट्रियसभा भएकाले त्यसअनुसार अझ बढी भूमिका निर्वाह गरिनुपर्ने उहाँको भनाइ थियो ।

“संविधान देशको मूल कानून भएकाले सबै शक्तिको सहमतिमा संशोधन हुनुपर्छ, महत्वाकांक्षा पूरा गर्ने हतियारका रुपमा उपयोग गरियो भने नमान्नेकै संख्या बढ्न थाल्छ”, सांसद लालले भन्नुभयो । समाजवादी पार्टीकी नेता प्रमिलाकुमारीले केही विधेयक नियम निलम्बन गरेर पारित गरिएको बताउनुहुँदै नेपाल ट्रष्टको जग्गा विवाद यस्तै कारणले आएको बताउनुभयो । आगामी दिनमा अझै सहमतिका आधारमा सभा सञ्चालन गरिनुपर्ने उहाँको सुझाव थियो ।

तपाईको प्रतिक्रिया