चारवर्षमा चारवटा अर्ना, बासस्थान वृद्धि गर्दै निकुञ्ज

  फागुन २१, २०७६

चितवन, २१ फागुन : संख्या वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष अगाडि ल्याएको अर्नाले चार वटा मात्र सन्तान वृद्धि गरेको छ । अर्नाको पनि सख्या वृद्धि गर्नको लागि कोसी टप्पु आरक्षण र सदर चिडियाखाना जावालाखेलबाट सन् २०१७ मा अर्ना ल्याइएको थियो । कोसीबाट १२ र चिडियाखानाबाट तीनवटा ल्याएको मध्ये विभिन्न कारणले छ वटा अर्ना मरेपछि नौ वटा बाँकी रहेको थियो । बाँकी रहेको अर्नाले पाडापाडी पाएपछि १३ वटा भएको चितवन निकुञ्जका सूचना अधिकारी प्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

कोसी टप्पु आरक्षण क्षेत्रमा मात्र रहेको अर्नाको वासस्थान चितवन पनि बनाउने भन्दै सन् २०१७ मा वन्यजन्तु विभागले चितवन ल्याएको थियो । यहाँ ल्याएका अर्नाको लागि सौराहा नजिकैको पुरानो पदमपुर क्षेत्रमा इन्क्लेजार निर्माण गरि राखिदै आएको छ । इन्क्लोजरमा राखेका अर्नाले पाँच वटा पाडापाडी जन्माएका थिए । सूचना अधिकारी उप्रेतीले भन्नु भयो जन्मेका मध्य एउटा मरेकाले अहिले चारवटा मात्र पाडापाडी रहेका छन् । 
यस अगाडि माउ अर्नाहरु यहाँको वातावरणमा रहन नसकेपछि छ वटा मरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले भन्नु भयो वाढी, बाघको आक्रमण, रोगको कारणले मरेको हो । अब त्यो अवस्थालाई कम गराउदै लैजाने निकुञ्जको तयारी रहेको उहाले जानकारी दिनु भयो । 
३० हेक्टरमा निर्माण गरिएको इन्क्लेजर तारजाली लगाएर घेरिएको ठाउँको क्षेत्रफल वृद्धि गर्ने तयारी रहेको कार्यालयले जनाएको छ । प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भन्नु भयो चालु आर्थिक वर्षमा १५ हेक्टर क्षेत्रफल निर्माण सम्पन्न गर्ने गरी काम अगाडि वढेको छ । नयाँ पाडापाडी जन्मेको, बासस्थानको क्षेत्र वृद्धि गर्दा उनीहरुको वृद्धि विकासमा सहज पुग्ने भएकाले ठाउँ बढाउन थालेको उहाले बताउनुभयो । 
तारजालीले घेरेर खुला छोडेको ठाउमा अर्नाको लागि आहाल खेल्न पोखरी, पानी खाने पोखरी, चरणको व्यवस्था गरिएको छ । असार मसान्त भित्र इन्क्लोजरको बृद्धि भएपछि ४५ हेक्टर क्षेत्रफल हुन्छ । १३ वटा अर्नाको लागि यो क्षेत्र उपयुक्त हुने हामीले विश्वास लिएका छौ प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताउनु भयो । अर्नाको वृद्धि विकासको अध्ययनको क्रममा निकुञ्ज रहेकाले चितवन निकुञ्जको वातावारण कस्तो भयो भन्ने विषय पछि आउने उहाले जानकारी दिनु भयो । बाघ जंगली हात्त अन्य जनावरको आक्रमणबाट जोगाउनको लागि अग्ला जालीले पर्खाल निर्माण गरिएको छ । चितवन निकुञ्ज आर्नाको लागि पनि उपयुक्त वातावारण भएको जंगल भएको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया