विकास योजना व्यवस्थित सञ्चालन प्रयास

  फागुन २०, २०७६

रवीन्द्र काफ्ले
फिदिम, २० फागुन

यहाँका स्थानीय तहले आआफ्नो स्थानीय तहमा सञ्चालन हुने विकासका योजनाको व्यवस्थित एवं प्रभावकारीरुपमा सञ्चालन गर्न उपभोक्ता समितिलाई योजना सञ्चालनसम्बन्धी तालीम दिएका छन् । यहाँका सबै स्थानीय तहले वडास्तरमा तालीम आयोजना उपभोक्ता समितिका पदाधिकारीका योजना सञ्चालनसम्बन्धी जानकारी दिएका छन् ।

विकास निर्माणका योजना समयमै सञ्चालन भए पनि योजनासम्बन्धी कागजात तयार पार्न तथा आवश्यक प्रक्रिया पूरा गर्न उपभोक्ता समितिलाई समस्या पर्ने गरेको छ । कागजात र आवश्यक प्रक्रिया पूरा नहुँदा बजेट निकासा गर्न गाउँ कार्यपालिकाको कार्यालयलाई समस्या हुने गरेको छ भने उपभोक्ता समितिका पदाधिकारीले झञ्झट व्यहोर्नु परेको छ । यस प्रकारको झञ्झट नहोस् भन्ने उद्देश्यले तीन वर्षदेखि उपभोक्ता समितिलाई तालीम दिइँदै आएको पाँचथरको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो ।

प्रत्येक वर्ष नयाँनयाँ योजना कार्यान्वयन हुने र तिनमा नयाँ पदाधिकारी आउने हुँदा तालीम अत्यावश्यक रहेको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईको भनाइ छ । “अझै पनि कागजात तयार पार्न उपभोक्ता समितिलाई कठिन परिरहेको छ”, भट्टराईले भन्नुभयो, “काम गरे पनि कागजात नहुँदा समस्या पर्ने भएकाले तालिम दिएका हौँ ।” तालीमका कारण समयमा काम सम्पन्न गर्नेक्रम वर्षेनी बढिरहेको भट्टराईको भनाइ छ ।

स्थानीय तहलाई योजना सम्पन्न गर्न तथा रकम निकासा गर्न केही सहजता भएको उहाँले बताउनुभयो । तालीममा उपभोक्ताको आम भेला गर्ने तरिका, कार्यालयबाट सेवा लिने तरिका, योजना सञ्चालन गर्दा आवश्यक पर्ने कागजात, कागजात तयार पार्ने तरिका, योजना सञ्चालनको प्रक्रिया, बजेट निकासा गर्ने प्रक्रिया, योजनाको गुणस्तरलगायतका विषयमा जानकारी दिने गरिएको छ । “यति जानकारी दिँदा पनि उपभोक्ता समिति अरुकै भर पर्नुपर्ने पनि भएको छ”, भट्टराईले भन्नुभयो, “यस्तोमा वडा कार्यालयले सहजीकरण गर्ने गरेका छन् ।”

कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षमा केकस्ता योजना सञ्चालन गर्ने भन्ने मार्गनिर्देशनसमेत गर्ने गरेका छन् । स्थानीयवासीको आयआर्जन अभिवृद्धिलाई दृष्टिगत गर्दै जिल्लाको याङवरक गाउँपालिकाका जनप्रतिनिधिले पूर्वाधार निर्माणका विशेष आवश्यकताका योजना मात्रै सञ्चालन गर्न तथा सञ्चालनमा रहेका योजनाको गुणस्तरीय निर्माण गर्दै पूर्ण बनाउन मद्दत गर्न आग्रह गरेका छन् । “पूर्वाधार निर्माणमा केन्द्रित हुँदा आयआर्जन वृद्धि गर्ने विषय ओझेलमा परेको छ”, याङवरक गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङले भन्नुभयो, “अब धेरैभन्दा धेरै आर्थिक विकासका योजना सञ्चालन गर्ने तथा पूर्वाधारका योजनामा समेत सकेसम्म स्थानीय कामदारले काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दै आएका छौँ ।”

अत्यावश्यक भौतिक संरचना तयार पार्दै याङवरक
व्यवस्थित भौतिक संरचनाको अभावले गाउँपालिकाका तथा मातहतका कार्यालयको कार्य सम्पादन प्रभावकारी नभएपछि पाँचथरको याङवरक गाउँपालिका अत्यावश्यक भौतिक संरचना निर्माणमा जुटेको छ । साविक थर्पू गाविसको कार्यालयमा रहेको गाउँपालिकाको कार्यालय साँघुरो र अव्यवस्थित हुँदा गाउँपालिकाका कैयौं गतिविधि प्रभावित भएको तथा गाउँपालिकाभित्रका अन्य विभिन्न निकाय र संस्थाका व्यवस्थित कार्यालय भवन नहुँदा कार्य सम्पादनमा समस्या परेका कारण अत्यावश्यक पूर्वाधार निर्माण अगाडि बढाइएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकाले कार्यालय भवन, वडा नं २ र वडा नं ५ को वडा कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । गाउँ कार्यपालिकाको कार्यालयले पुस अन्तिम साता गाउँपालिकाको कार्यालय भवन तथा वडा नं २ र ५ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । आगामी तीन वर्षमा योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बोलपत्र आव्हान गरिएको हो । गाउँपालिकाको कार्यालय भवन पाँचतले तथा वडा कार्यालय भवन दुईतले हुने प्राविधिक स्टिमेटसहितको बोलपत्र आह्वान गरिएको हो । बहुवर्षीय योजनाका रुपमा निर्माण कार्य अघि बढाइएको गाउँपालिकाका सवइञ्जिनीयर मोवीर पुनले बताउनुभयो ।

गाउँपालिकाको कार्यालय भवन याङवरक गाउँपालिका–४ को निशान मौलोको छेउमा निर्माण गर्न लागिएको हो । गाउँपालिकालाई स्थानीयवासीले निःशुल्क प्रदान गरेको करिब १५ रोपनी क्षेत्रफलमा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाको कार्यालयका अतिरिक्त दुई वटा वडा कार्यालयसमेत आवश्यक रहेकाले भवन निर्माणका लागि बोलपत्र आह्वान गरिएको हो । वडा नं २ को वडा कार्यालय कच्ची घरमा सञ्चालन हुँदै आएको छ भने वडा नं ५ को वडा कार्यालय सामुदायिक भवनमा रहँदै आएको छ ।

याङवरकमा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गाउँ कार्यपालिकाको प्राविधिक, योजना, लेखा, प्रशासनलगायत शाखा तथा विषयगत एकाइका लागि भवनको अभाव छ । गाउँपालिकामा विषयगत एकाइ स्थापना भएपछि कोठा भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको छ । विभिन्न शाखाको कामकाज एकै भवनमा सञ्चालन गर्दा कार्यसम्पादनमा समस्या हुँदै आएको छ ।

यस्तै गाउँपालिकाको केन्द्र आसपासमा ठूलो सङ्ख्यामा सहभागी रहने सभा, गोष्ठी, सेमिनारलगायत कार्यक्रम गर्नलाई भवनको अभाव भएपछि गत आर्थिक वर्षबाट गाउँपालिकाले सामुदायिक भवन निर्माण थालेको छ । स्थानीय स्वर्णकुमार योङहाङले निःशुल्क उपलब्ध गराउनुभएको एक रोपनी जमिनमा सामुदायिक भवन निर्माण शुरु भएको हो । भवन निर्माणका लागि गत आवमा रु १७ लाख तथा चालू आवमा रु २५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिनुभयो । चालू आवमै उक्त भवन निर्माण पूरा गर्ने गाउँपालिकाको लक्ष्य छ ।

यस्तै गाउँपालिकाले स्वास्थ्य संस्था नरहेको वडा नं ५ मा गत वर्ष सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको थियो । यस आवबाट स्वास्थ्य चौकी निर्माणको कार्य अघि बढाइएको छ । वडा नं ५ मा रु ५४ लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण कार्य शुरु भएको छ । उक्त भवन चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको याङवरक गाउँपालिका–५ का वडाध्यक्ष टेकनाथ न्यौपानेले जानकारी दिनुभयो ।

याङवरक गाउँपालिकाले गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यमा रहेको निशान मौलाकालिका धामको संरक्षण एवं विकासको कार्यलाई अघि बढाएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमै यहाँ रहेको याङवरक पोखरीको घेराबार सम्पन्न गरिसकेको छ । उक्त पोखरीलाई दुईतर्फबाट पक्की पर्खाल लगाइएको छ । बाँकी दुई तर्फबाट पर्खाल लगाउने योजनाका साथ प्रदेश सरकारमा प्रस्ताव अघि बढाइएको उपाध्यक्ष योङहाङको भनाइ छ ।

पोखरीको विस्तार, प्राकृतिक सुन्दरता वृद्धि एवं संरक्षणका लागि पोखरी सफा गर्ने कार्यसमेत शुरु भएको छ । यस्तै निशान धाममा आउने पर्यटक तथा तीर्थयात्रीको चापलाई दृष्टिगत गर्दै गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा सिंढीमार्ग र सवारी पार्किङस्थल निर्माण गरेको छ । गाउँपालिकाको कार्यालय अघिल्तिर पुष्पलाल (मध्यपहाडी) लोकमार्गबाट धामसम्म रु २५ लाखको लागतमा सिंढीमार्ग निर्माण भएको हो । यसैगरी रु २५ लाखकै लागतमा सवारी पार्किङस्थल निर्माणसमेत शुरु भएको छ ।

याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले अत्यावश्यक पूर्वाधार निर्माणले काम कारवाहीलाई चुस्त एवं प्रभावकारी बनाउन सकिने भएकाले भवनलगायत भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । गाउँपालिकाले विद्यालय, स्वास्थ्य संस्थाका भवन, प्रहरी चौकी, सामुदायिक भवन, सार्वजनिक शौचालय लगायतको निर्माण र मर्मतलाई प्राथमिकतामा राख्दै गाउँपालिकाको बजेटले भ्याएसम्म काम अघि बढाएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

यस्तै यी भवनमा सोलार तथा विद्युत् जडान, प्रविधि तथा सञ्चारको प्रबन्ध, खानेपानीलगायत पूर्वाधारको व्यवस्थामा समेत गाउँपालिकाले बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको पहिलो आर्थिक वर्षमै याङवरक गाउँपालिका–६ गणेश चोकमा चारकोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया