निर्वाचनमार्फत स्थायी राजधानीको टुंगो लगाउने तयारी

  फागुन २०, २०७६

धनुषा, २० फागुन : प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुंगो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश नं २ को नाम र स्थायी राजधानी टुंगो लाग्ने भएको जनाएको हो ।

प्रदेशसभा सचिवालयका अनुसार नाम र राजधानीको टुंगो लगाउन यही फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानीबारे टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको हो । सभामुख सरोजकुमार यादवले करिब तीन महिनादेखि अवरुद्ध प्रदेशसभा बैठक यही फागुन २२ मा बोलाइएको बताए । उनले फागुन २२ गते दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने बताए ।

सभामुख यादवले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया शुरु हुने जानकारी दिए । उनले प्रदेशको नामकरणका लागि चार र राजधानीका लागि तीन प्रस्ताव दर्ता भएको भन्दै सबै प्रस्तावमा छलफल गरेर दुईतिहाइ मतबाट पारित गर्ने बताए ।

प्रदेश नं २ को स्थायी राजधानीबारे सबै दल एकमत भए पनि प्रदेशको नाममा सहमति हुनसकेको छैन । प्रदेशको स्थायी राजधानी र नामकरण सर्वसम्मतरूपमा राख्न संसदीय दलबीच विवाद देखिएपछि सभामुख यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो । सो समितिले प्रदेशको राजधानीको टुंगो लगाए पनि प्रदेशको नामकरण भने टुंगो लगाउन सकेको छैन । समितिको पहिलो बैठक शुरु भएको एक महिनाभित्र सहमति जुटाई प्रस्ताव पेश गर्न भनिएको थियो ।

सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेशको नामकरण ‘मधेश प्रदेश’ प्रस्ताव गरेका छन् भने प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ‘जानकी’ र नेपाली काँग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेका छन् । प्रदेशको नामकरणबारे सहमति जुटाउन पटक–पटक बसेको समितिको बैठकमा सत्तारूढ दल मधेश प्रदेशबाट पछि हट्न तयार भएन भने विपक्षी दल पनि आफ्ना अडानबाट पछि हट्न तयार नभएपछि सहमति जुट्न नसकेको हो ।

मधेश जोड्दै नेकपाले जानकी–मधेश र काँग्रेसले मिथिला–मधेश नामकरण गर्न सत्तारूढ दललाई सुझाएका थिए । प्रदेश नं २ मा सत्तारूढ दल समाजवादी पार्टीको ३० र राजपा नेपालको २५ सदस्य छन् भने प्रमुख विपक्षी दल नेकपाका ३२, काँग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी फोरमका एक सदस्य प्रदेशसभामा छन् ।

तपाईको प्रतिक्रिया