अन्तर्राष्ट्रिय आवागमनमा कडाइ, जरुरी कामबाहेक विदेश नजान आग्रह

  फागुन २०, २०७६

काठमाडौं, २० मंसिर : विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढेसँगै नेपालले पनि अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेको छ । सरकारले सोमबार ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न भनेको छ । कोरोना प्रभावित ५ देशका नागरिकलाई ‘अनअराइभल भिसा’ सुविधामा अस्थायी प्रतिबन्ध लगाएको छ ।

कोराना प्रभावित देशहरूमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन पनि रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका आफन्तलाई स्वागत तथा बिदाइमा कडाइ गरिनुका साथै स्थलमार्गबाट नेपाल भित्रिनेहरूलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मुलुकमा अन्तर्राष्ट्रिय सभा/सम्मेलन गर्न पनि केही समयका लागि स्थगित गरिएको जानकारी गराए । ‘निजी र सामाजिक क्षेत्रलाई पनि यस्ता खाले कार्यक्रम नगर्न आग्रह गरेका छौं,’ उनले भने ।

विदेशस्थित आफ्ना नियोगलाई त्यहाँ रहेका नेपालीसँग सम्पर्कमा रहन निर्देशन दिइसकेको उनले बताए । नेपालका ३० वटा दूतावास, तीनवटा संयुक्त राष्ट्रसंघको स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास छन् । स्थलमार्गबाट भारत भएर आउनेलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न भनेको र नाकामा पनि उच्च सतर्कता अपनाइएको उनले बताए ।

‘चीनबाट नेपालीहरूलाई उद्धार गरेर ल्यायौं । आवश्यक परे अन्य स्थानबाट पनि ल्याउन सरकार तयार छ,’ उनले भने । विदेशबाट नेपालीलाई उद्धार गरी ल्याइए भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई निरन्तरता दिने र अन्य सरकारी तथा निजी अस्पतालमा पनि आइसोलेसन वार्डको व्यवस्था गर्न भनिएको मन्त्री ज्ञवालीले बताए ।

यस्तै, सरकारले चीन तथा उसको विशेष प्रशासनिक क्षेत्र हङकङ, दक्षिण कोरिया, जापान, इटाली र इरानका नागरिकलाई नेपालले दिँदै आएको अनअराइभल भिसामा आगामी मार्च १० देखि अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार ती देशका नागरिकले नेपाल भ्रमण गर्नुपरे सम्बन्धित मुलुकमा रहेका नेपालका कूटनीतिक नियोगबाटै कोभिडमुक्त रहेको स्वास्थ्य प्रमाणित पत्रका साथ निवेदन दिनुपर्नेछ ।

निवेदनपछि आवश्यकता र औचित्यका आधारमा ती देशका नागरिकलाई भिसा प्रदान गर्न सकिने गरी प्रावधान लागू गर्न सोमबार नै परराष्ट्र मन्त्रालयले आफ्ना राजदूतावास तथा कूटनीतिक नियोगहरूमा परिपत्र गरेको छ । त्यसअघि अध्यागमन विभाग र परराष्ट्र मन्त्रालयका अधिकारीबीच सिंहदरबारमा छलफल भएको थियो ।

मन्त्रिपरिषद् बैठकले अध्यागमन कानुनमा केही कडाइ गर्न निर्देशन दिएको भोलिपल्टै गृह मन्त्रालयले पाँच देशका नागरिकलाई अनअराइभल भिसामा अस्थायी प्रतिबन्ध लगाएको हो । नेपालले इराकसहित १२ मुलुकका नागरिक र शरणार्थीलाई अनअराइभल भिसामा रोक लगाउँदै आएको छ ।
मन्त्री ज्ञवालीले नेपालले चैतमा गर्न लागिएको सगरमाथा संवाद पनि तत्कालका लागि स्थगित भएको बताए । यसबारे सगरमाथा संवाद सचिवालयको टोलीसँग आइतबार बृहत् छलफल गरेको उनले बताए । नोभेम्बर २६ मा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६) अघि सगरमाथा संवाद गर्ने योजना रहेको पनि उनले बताए । उनका अनुसार संवादमा सहभागी हुन २० मुलुकका राजनीतिक नेतृत्व तथा ३० वटा अनुसन्धान संस्था, विश्वविद्यालय र यूएन एजेन्सीहरूका प्रतिनिधिले प्रतिबद्धतासमेत गरिसकेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यात्रुका आफन्तजनलाई स्वागत तथा बिदाइमा कडाइ गरेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्रुका आफन्तजन तथा अन्य सरोकारवालालाई विमानस्थलभित्र प्रवेश नगर्न भनेका छन् । यात्रुबाहेक अन्यलाई अत्यावश्यक अवस्थामा बाहेक प्रवेश नगर्न र मास्क अनिवार्य प्रयोग गर्न उनले आग्रह गरेका छन् ।

विमानस्थलमा रहेको टर्मिनल ड्युटी अफिस (टीडीओ) बाट वितरण गरिँदै आएको भिजिटर पास पनि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ । आफन्तजनको बिदाइ वा स्वागतमा जाने अभिभावकले भिजिटर पास पाउँथे । टीडीओका अनुसार यस्तो पास लिने दैनिक तीन सय हाराहारी हुन्थे । यी पासबाहेक विमानस्थलबाट करिब १ सय २५ वटा सरकारी–निजी कार्यालय/संस्था/दूतावास, एयरलाइन्सलगायतले करिब पाँच हजारवटा फोटो भएको स्थायी पास लिएका छन् ।

कोरोना प्रभावका कारण अन्तर्राष्ट्रिय उडानतर्फ यात्रुको चाप अत्यधिक घटेको छ । महाप्रबन्धक केसीका अनुसार पहिले विमानस्थलबाट आउने र जाने अन्तर्राष्ट्रिय यात्रुको संख्या दैनिक २० हजार हाराहारीसम्म हुन्थ्यो, एक महिनायता दैनिक साढे सात हजारमा झरेको छ । हङकङबाट काठमाडौंका लागि उडान भर्दै आएको क्याथे ड्रागनले यात्रुको चापमा कमी आएपछि केही उडान कटौती गरेको छ । ‘यात्रुको चाप कम भएकाले मार्चमा चारवटा उडान कटौती गरेका छौं,’ क्याथेको काठमाडौंस्थित कार्यालयका एक कर्मचारीले भने । 

तपाईको प्रतिक्रिया