तुलसीपुर, २० फागुन : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस एक हुनुपर्ने बताए । लमही नगरपालिका–९ को अमिलियामा नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काको शालिक निर्माण कार्यको शिलन्यास गर्दै महामन्त्री खड्काले सो धारणा व्यक्त गरे ।
‘अहिले काँग्रेस एक नहुँदा यो क्षति व्यहोर्नुपरेको छ’, उनले भने, ‘अब एक भएर मुलुकलाई अगाडि बढाउन आवश्यक छ ।’ अहिले काँग्रेस गुटउपगुटले कमजोर बन्दै गएको भन्दै गुटभन्दा माथि उठ्न आवश्यक रहेको उनले बताए । स्व खड्काको जन्म गाउँमा शालिक निर्माण शुरु गरिएको हो । उक्त सालिक ढलोटको र पूर्णकदको रहनेछ ।
नेपाली काँग्रेस दाङका जिल्ला सदस्य गोविन्द रेग्मीका अनुसार दाङको विकास निर्माणमा नेता खुमबहादुरले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । कार्यक्रममा केन्द्रीय सदस्यद्वय दीपक गिरी, डा डिला सङ्ग्रोला, प्रदेश नं ५ का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीलगायतले अब काँग्रेसले मुलुकको समृद्धिको लागि एकताबद्ध हुनुको विकल्प नभएको बताए ।