उत्तरी नाइजेरियामा लुटेराको आक्रमणमा कम्तीमा ५० को मृत्यु

  फागुन १९, २०७६

कानो, नाइजेरिया, १९ फागुन : उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

लुटेराहरुले चौपाया चोरी र अपहरण गर्ने क्रममा गाउँलेले प्रतिकारको प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ ।

स्रोतका अनुसार लुटेराको करिब १०० जनाको सशस्त्र जत्थाले कादुना राज्यको केरावा, जारेयावा र मिन्दा गाउमा आइतबार बिहान मस्जीदमा प्रार्थना गर्न पुगेका क्रिश्चियन धर्मावलम्बीलाई गोली हानी हत्या गरेका थिए ।

“गाउँलेको हत्यापछि गाउमा पसी उनीहरूका चौपाया लुटेका थिए भने केटाकेटीलाई अपहरण गरी लगेका थिए,” उक्त क्षेत्रबाट नाइजेरियाको संसद्मा प्रतिनिधित्व गर्ने सांसद जैयद इब्राहिमले बताउनुभयो ।

लुटेराले स्थानीय दर्जनौँ घरमा आगजनीसमेत गरेको पनि बताइएको छ । नाइजेरियाको सेनाले लुटेरा लुकेर बसेका स्थानमा गाउँलेको सहयोगमा गरेको आक्रमणको बदलामा गाउँलेको निर्मम हत्या भएको स्थानीय प्रशासक दायेबु केरावाले एएफपीलाई बताउनुभयो ।

“लुटेराले स्थानीयलाई उनीहरू बस्ने इलाकाबारे सेनालाई सूचना दिएको भन्दै गोली हानेका घटनाबाट उम्किन सफल एक घाइतेले बताएका छन्,” केरावाले भन्नुभयो ।

केरावाले भन्नुभयो, “हामीले शनिबार ५१ जनाको शनाखत गरेका छौँ । घटनामा घाइते भएका दर्जनौँ मानिसलाई अस्पतालमा भर्ना गरिएको र केही घाइतेको अझै चिन्ताजनक अवस्था रहेकाले मृतक सङ्ख्या बढ्नसक्ने देखिएको छ ।”

कादुनाको प्रहरी प्रवक्ता मोहम्मद जालिजले घटनाबारे अनुसनधान सुरू भएको बताएका छन् । नाइजेरियामा पछिल्ला केही वर्षमा आपराधिक समूहको आक्रमणमा परी गाउँलेको मृत्यु हुने क्रम बढेको छ ।

नाइजेरियामा लुटेराले चौपाया तथा गाउलेको सम्पत्ति लुट्ने र अपहरण गर्ने क्रममा वर्षेनी सयौँ गाउँलेको हत्या गर्ने र गाउँमा आगो लगाइदिने घटना भइरहने गर्छन् ।

तपाईको प्रतिक्रिया