इन्डोनेसियामा पनि कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु

  फागुन १९, २०७६

जाकार्ता, १९ फागुन : इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ ।

विश्वको चौथो धेरै जनसङ्ख्या भएको देश इन्डोनेसियामा पहिलो पटक दुई जना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँकी एकजना ६४ वर्षीया महिला र उनकी ३१ वर्षीया छोरीमा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरू अहिले राम्रो अवस्थामा रहेका जाकार्तामा रहेको एक अस्पतालले जानकारी दिएको छ । ती दुई जना जापानबाट मलेसिया हँुदै इन्डोनेसिया फर्र्किएका थिए ।

उता संयुक्त राज्य अमेरिकामा भने थप एकजनाको यस भाइरसका कारण मृत्यु भएको छ । एकजना ७० वर्षीय अमेरिकी नागरिकको सो भाइरसको प्रकोपबाट निधन भएको बताइएको छ ।

वासिङ्टन राज्यको किङ काउन्टीमा उनको ज्यान गएको बताइएको छ । उपचारारत ती ७० वर्षीयको आइतबार निधन भएको र कोरोना भाइरसको सङ्क्रमणबाटै उनको निधन भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

किङ काउन्टी करिब ७ लाख जनसङ्ख्या भएको नगर हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार गत शनिबारमात्र पनि एकजनाको ज्यान गएको थियो । उनको पनि वासिङ्टन राज्यकै एक अस्पतालमा निधन भएको थियो ।

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि दुई जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया