सबैलाई धन्यवाद दिँदै क्वारेन्टाइनबाट खुशी साथ विदा भए नेपाली

  फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : चीनको वुहानबाट उद्धार गरी भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका १५७ जना सोमबार घर फिर्ता भएका छन् । फिर्ता हुन अघि आयोजित औपचारिक समारोहमा क्वारेन्टाइनमा बसेकाहरूले राम्रो व्यबस्थापनका लागि सरकार तथा सेनालाई विशेष धन्यवाद दिएका थिए ।

भक्तपुरको मौसम केही धुम्मिएर हल्का वर्षा भए पनि घर फर्कन पाउँदा सबैको मुहार उज्यालो भएको थियो । नेपालीहरूको उद्दारका लागि गएका पाइलट लगायतका १८ जनामा पनि कोरोना भाइरस संक्रम नदेखिए पछि आइतबार नै घर फिर्ता गरिएको थियो ।

नेपाल ल्याइएका १ सय ७५ जना मध्ये कसैलाई पनि कोरोनाको संक्रमण नभएको स्वास्थ्य परीक्षणबाट पुष्टि भएपछि घर फिर्ता गरिएको गोरखापत्रले जनाएको छ ।

खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिनुभयो ।

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ५७ जना र ७ जना स्वास्थकर्मीलाई स्वास्थ्य राज्यमन्त्री नवराज रावत, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र लगायतले विदाई गर्नुभएको थियो ।

क्वारेन्टाइनमा रहेका र उपचारमा खटिएका चिकित्सको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको स्वाबको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको थियो । औपचारिक विदाइ भए पनि आजै घर जान नसक्ने र उपत्यका बाहिरकालाई भने क्वारेन्टाइमा नै बस्ने ब्यबस्था मिलाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया