देवीनाच आगमघरको शिलान्यास

  फागुन १९, २०७६

काठमाडौं, १९ फागुन : हरेक वर्ष इन्द्रजात्राका अवसरमा किलागलबाट निकालिने देवीनाच (दीप्याखं)को आगमघर निर्माणका लागि फागुन १९ गते शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
परम्परागत स्वरुप र प्राचीन शैलीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो घर पुनर्निर्माणका लागि करिब सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आगमघर निर्माणका लागि कामपाले चालु आवमा एक करोड बजेट विनियोजन गरेको छ । त्यस्तै श्रद्धालु भक्तजनलाई समेत सो आगमघर निर्माणमा इच्छानुसार चन्दा सहयोगका लागि देवीनाच (दीप्याखं) प्रवद्र्धन तथा संरक्षण समितिले आह्वान गरेको छ ।

उक्त घर निर्माणका लागि सहयोग गर्नुहुने महानुभावहरुको नाम शिलापत्र र घर निर्माण सम्पन्न भएपछि निकालिने स्मारिकामा समेत प्रकाशित गरिने समितिले जनाएको छ । प्रमुख अतिथि तथा कामपाका मेयर विद्यासुन्दर शाक्यले गुठीले नै संस्कृति सम्वद्र्धनका लागि काम गरिरहेको बताए । कुनै पनि विधेयक तयार भएपछि विरोध गर्नु भन्दा आफूहरुलाई कस्तो आवश्यक छ त्यससम्बन्धी सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, प्रतिनिधिसभा सांसद कृष्णगोपाल श्रेष्ठ, सांसद बिना श्रेष्ठ, कामपाका उपमेयर हरिप्रभा खड्गी, कामपा १५ वडाका अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोल, १८ वडाध्यक्ष एवं सांस्कृतिक समिति प्रमुख न्हुछेकाजी महर्जन, २५ वडाध्यक्ष नीलकाजी शाक्यलगायत उपस्थित थिए । देवीनाचका कजि एवं समितिका सहउपाध्यक्ष नातिकाजी महर्जनले स्वागत गर्दै कार्यक्रममा भवन डिजाइनबारे इन्जिनियर मचाकाजी महर्जन, देवीनाचबारे नरेन्द्र महर्जनले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया