राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा

  फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय अध्ययन कक्षा आजदेखि शुरु भएको छ । राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितबारे एकै खालको बुझाइ र समान धारणा बनाउन योगदान पुगोस् भन्ने हेतुले आयोजना गरिएको उक्त कक्षामा रक्षा, गृह, वन तथा वातावरण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च तहका अधिकृत सहभागी हुनुहुन्छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक, नेपाल रेडक्रस तथा राष्ट्रिय समाचार समिति (रासस)का प्रतिनिधिलगायत २१ अधिकृतको उक्त कक्षामा सहभागिता छ ।

कक्षाको उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितको प्रवद्र्धनका लागि नीतिनिर्माण तहमा रहने र कार्यान्वयन गर्नेबीच वर्तमान र भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीको विश्लेषण, अनुभव आदान–प्रदान गरी समान बुझाइ र साझा धारणा बनाउन कक्षा सहज हुने बताउनुभयो । मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानवीय पक्षलाई समेट्ने सुरक्षाको बहुआयामिक महत्वबारे ज्ञान आदान–प्रदान र बुझ्न सहज हुने बताउँदै उहाँले कक्षामा प्राप्त ज्ञानबाट विपद्का समयमा सरोकारपक्षबीच सहकार्य र एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरूपमा सञ्चालित पाँचाँै शृङ्खलाको उक्त कक्षामा सुरक्षा नीतिअन्तर्गत सार्वजनिक र निजी मूल्यमान्यता, राष्ट्रिय सम्मान र गौरव, जीउधन एवं सामाजिक–सांस्कृतिक मूल्यमान्यताको सुरक्षा र संरक्षणका विषयमा पनि ज्ञान दिइनेछ । राष्ट्रिय सुरक्षाले भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा देशको पूर्ण सुरक्षालाई बुझाउने र त्यसले मुलुकको अर्थतन्त्र, न्याय र समृद्धिमा विशिष्ट योगदान पु¥याउन सक्ने पाटोबारे कक्षामा विश्लेषण गरिने बताइएको छ ।

रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले विश्वमा देखिएका नयाँनयाँ सुरक्षा चुनौती र चासोलाई सामना गर्न हामीबीचको सामूहिक छलफल पनि महत्वपूर्ण हुनसक्ने धारणा व्यक्त गर्नुभयो । कलेजका प्रमुख उपरथी ईश्वर हमालले सामाजिक मूल्यमान्यताको संरक्षण गर्न र प्राकृतिक प्रकोप तथा विपद्का समयमा सहकार्यका साथ काम गर्न सहज तुल्याउन कक्षा कोसेढुङ्गा साबित हुनेछ भन्नुभयो । उक्त कक्षा १५ दिने तालीममा सुरक्षा, परराष्ट्र, ऊर्जा, आतङ्कवाद, कूटनीति, साइबर चुनौती, सञ्चार र राष्ट्रिय सुरक्षालगायत विषयमा विज्ञविद्वान्बाट प्रस्तुति हुनेछ ।

तपाईको प्रतिक्रिया