क्रिकेटमा नेपालको दोस्रो हार

  फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग पराजित भएको छ । बैंककको टेडथाई क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । लगातारको दुई हारसँगै एशिया कप छनोटमा पुग्ने नेपालको सम्भावना न्यून हुँदै गएको छ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा मलेशियासँग २२ रनले पराजित भएको थियो ।

पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई १५५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा नेपाल १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । शुरुआती ब्याट्सम्यान कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो शुरुआत दिलाए पनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपाल हार बेहोर्न बाध्य बन्यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिनुभयो भने कुशल १९ रनमा आउट हुनुभयो । यस्तै अविनाश बोहराले १२ रन जोड्दा आरिफ शेखले १० रन बनाउनुभयो । करण केसीले ७, विनोद भण्डारी र दिपेन्द्र सिंह ऐरी ५÷५ रन जोड्दा पारस खड्का ४ रनमा पेभेलियन फर्किनुभयो । पवन सर्राफ १ रनमा आउट हुँदा सन्दीप लामिछाने शून्य रनमा आउट हुनुभयो ।

बलिङतर्फ हङकङका हरून मोहमद अर्साद एक्लैले ५ विकेट लिनुभयो भने अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४८ रनको योगदान दिनुभयो भने साहिद वासिफले २६ रन जोड्नुभयो ।

त्यसैगरी कप्तान अजिज खानले २९, हरून मोहमद अर्सादले २७, जेम्स जोनले १३ तथा वाकस खानले ५ रन जोड्नुभयो । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सुशान भारीले २÷२ विकेट लिँदा कुशल मल्लले १ विकेट झार्नुभयो । अब नेपालले आफ्नो तेस्रो खेल बुधबार आयोजक थाइल्याण्डसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित मलेशिया, थाइल्याण्ड, सिङ्गापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया