पोखरा, फागुन १९ : प्रजातन्त्रवादी प्राध्यापक संघ वन विज्ञान अध्ययन संस्थान एकाइले पूर्णकालीन क्याम्पस प्रमुख नियुक्ति गर्न माग गरेको छ ।
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा विगत दुई वर्षदेखि रिक्त पूर्णकालीन क्याम्पस प्रमुखको नियुक्तिलाई अड्काएर अधिकारको दुरुपयोग गर्दै मनोमानीरुपमा तीन÷तीन महिने क्याम्पस प्रमुख नियुक्ति गरिँदा क्याम्पसको समग्र शैक्षिक वातावरणमा नै असर पुगिरहेको भन्दै संघले उक्त माग गरेको हो ।
क्याम्पसको प्राज्ञिक गरिमालाई उचो बनाउन राजनीतिक आस्था र व्यक्तिगत स्वार्थबाट माथि उठेर विधि र प्रक्रिया संगतरुपमा विषय विज्ञता, वरिष्ठता, प्रशासनिक दक्षताजस्ता कुरालाई ख्याल गर्दै तत्कालीन पूर्णकालीन क्याम्पस प्रमुख नियुक्त गर्न आफूहरूले माग गरेको संघका सभापति राजन सुवेदीले जानकारी दिए ।
उपकुलपति स्वयंले गर्नुभएको १५ बुँदे प्रतिबद्धताका साथै विश्वविद्यालयलाई सेन्टर अफ एक्सलेन्स बनाउने उद्देश्य पूरा गर्न पनि राजनीतिक आस्था र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न संघले आग्रह गरेको छ ।