सुविधा सम्पन्न विद्यालय निर्माण गर्दै छेडागाड

  फागुन १९, २०७६

जाजरकोट, १९ फागुन  : पढ्ने कक्षा कोठाको अभावमा समस्य भोग्दै आएका विद्यार्थीका लागि छडागाड नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण कार्य शुरु गरेको छ ।

समस्याको वर्गीकरण गरी भूगोलका आधारमा नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण शुरु गरेको हो । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने छेडागाड नगरपालिका सडक सञ्जालको पहुँचमा रहेको स्थानीय तह हो । स्थानीय सरकार घोषणा भएसँगै शैक्षिक क्षेत्रमा भारी बजेट विनियोजन गरी काम थालेको नगरले अहिलेसम्म १५ वटा आधुनिक विद्यालय भवन निर्माण गरिसकेको छ ।

यो आर्थिक वर्षमा आठ वटा सुविधा सम्पन्न विद्यालयका भवन निर्माण भइरहेको छ । त्यस्तै तीन वटा विद्यालयका भवन कर्णाली प्रदेश सरकारको अनुदानमा निर्माण भइरहेको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए । विद्यालय भवन भए पनि विद्यार्थीलाई खेल मैदान नहुँदा समस्या भोगिरहेको गुनासो बढेपछि नगरपालिकाले आठ वटा नयाँ खेल मैदानसमेत निर्माण गरेको प्रमुख महतराले जानकारी दिए ।

विद्यालय भवन निर्माण कार्य पूरा भएको ठाउँमा सहजरुपमा कक्षा कोठामा बसेर पढ्न पाउँदा खुशी भएको छेडागाड नगरपालिका–९ स्थित अमृत आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्ने छात्रा रमिता केसीले जानकारी दिए । विद्यालय भवन नहुँदा खुला आकाशमा बसेर पढ्दा समस्या भोग्दै आएका विद्यार्थी नयाँ भवन पाएसँगै पढाइ कार्य सहज भएको बताउँदै आएका छन् । विद्यालयमा बस्ने कक्षा कोठा नहँुदा अन्य साथीभन्दा अगाडि विद्यालय आएपछि मात्र बस्न पाइने प्रतिस्पर्धा चल्ने चन्द्रज्योति आधारभूत विद्यालय छेडागाड नगरपालिका–१२ मनघाटमा अहिले विद्यालय भवन निर्माणसँगै विद्यार्थी बस्ने कोठाका लागि प्रतिस्पर्धा गर्ने समस्या हल भएको छ ।

अहिले सबै विद्यार्थी मिलेर रमाई रमाई पढ्न पाएको शिक्षकले बताएका छन् । कक्षा कोठा नहँुदा छात्रभन्दा छात्रालाई बढी समस्या हुने गरेको थियो, अहिले समस्या हल भएपछि शिक्षक विद्यार्थी सबैलाई सहज भएको छ, कक्षा ६ मा अध्ययनरत चन्द्रिका बुढाले बताए ।

विद्यालयमा खानेपानीको समस्या समाधान गर्नका लागि समस्या वर्गीकरण गरी नगरले खानेपानी निर्माण कार्य जारी राखेको नगरपालिका निर्मित प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिए । खानेपानी र कक्षा कोठाकै अभावमा विद्यालय आउन नमान्ने विद्यार्थी अहिले भवन तथा खानेपानी विद्यालयमा सहज तरिकाले पाएपछि विद्यालयमा नियमित आउने केसीको भनाइ छ । छेडागाड नगरपालिकाभित्र ८६ सामुदायिक विद्यालय रहेका छन् । नगरभित्रका सबै विद्यालयको समस्याको पहिचान गरेर त्यसको निराकरण गर्ने कार्य जारी रहेको बताइएको छ ।

नगरपालिकाको आफ्नै बजेटले सबै विद्यालयमा भवन निर्माण कार्य सम्पन्न गर्न समस्या भएकाले विभिन्न संघ, संस्थासँग सहकार्य गरी भवन निर्माणको कामलाई तीव्रता दिएका छौँ’, नगरप्रमुख महतराले भने, ‘कोही पनि विद्यार्थी विद्यालयमा बस्ने र खानेपानीकै समस्याले पीडित नहुन भन्ने हाम्रो आशा छ ।’ केही विद्यालयमा बालमैत्री खानेपानीको धारासमेत निर्माण गरिएको छ ।

कुपोषण हुन नदिन आइरन चक्की

छेडागाड नगरपालिकाले यहाँका १० देखि १९ वर्षभित्रका छात्रालाई कुपोषण हुन नदिनका लागि आइरन चक्की खुवाउँदै आएको छ । घरायासी कामदेखि महिनावारी हुँदा धेरै समस्या भोग्नुपर्ने भएकाले बालिकालाई कुपोषणबाट जोगाउन आइरन चक्की खुवाउन थालिएको छ । १३ हप्तासम्म आइरन चक्की उपलब्ध गराएर स्वास्थ्य अवस्था मजबुत बनाउने अभियान शुरु गरिएको नगरप्रमुख महतराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया