मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ

  फागुन १८, २०७६

क्वालालम्पुर, १८ फागुन : मलेसियामा पूर्वगृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनःउदय भएको छ । पूर्वप्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गर्नु भएको छ ।

सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी “प्याक्ट अफ होप” नामको गठबन्धनभित्र मौलाएको आन्तरिक कलहकै कारण सरकार पतन भएको थियो ।

सत्ता कलहलाई थामथुम पार्नुको साटो प्रधानमन्त्रीको पदबाटै राजीनामा दिनुभएका महाथिरले सर्वपक्षीय सरकार गठन गर्ने प्रयास गर्नुभएको थियो । तर महाथिरको त्यो प्रयास विफल भयो । मलेसियाको राजनीतिमा कमै चिनिएका यासिनले नयाँ गठबन्धनको नेतृत्व गरी सरकार गठन गर्नु भएको छ ।

शनिबार राजाले मोहिउद्दीनलाई प्रधानमन्त्रीका रूपमा छनौट गर्ने निर्णय गरेलगत्तै महाथिर र उहाँको दलका नेता स्तब्ध भएका थिए । महाथिर र उहाँका सहयोगीले आफूहरुसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए । प्रजातान्त्रिक तवरले चुनिएको सरकारलाई जबर्जस्ती सत्ताच्यूत गरिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

मोहिउद्दीनको सपथग्रहण समारोह हुनुअघि महाथिरले उनीमाथि विश्वासघात भएको आरोप लगाउँदै नयाँ प्रधानमन्त्रीले संसद्बाट बहुमत ल्याएर देखाउन चुनौती दिनुभयो । महाथिरको उक्त मन्तव्यका कारण मुलुकको राजनीतिक सङ्कट जारी रहेको जानकारको भनाइ छ ।

महाथिरले भन्नुभयो, “यो एकदम अनौठो कुरा हो । हार्नेले सरकार बनाएका छन्, विजेता विपक्षीमा छन् । यो त कानुनी शासनको विपरीत हो ।”

मुहिउद्दीनको गठबन्धनमा भ्रष्टाचारको आरोप खेपिरहेका पूर्वप्रधानमन्त्री नजिब रजाकको नेतृत्वमा रहेको युनाइटेड मलेज नेसनल अर्गनाइजेसन (युएमएनओ)का साथै कडा मुस्लिम कानुनको वकालत गर्ने कट्टरपन्थी समूह रहेका छन् । पूर्वप्रधानमन्त्री नजिब अहिले भ्रष्टाचारसम्बन्धी मुद्दा खेपिरहेका छन् ।

महाथिरले अन्तिम समयसम्म पनि आफूसँग बहुमत रहेको दाबी गर्नु भएको थियो तर मुहिउद्दीनको शपथ कार्यक्रम आइतबार बिहानै गरिएको थियो । महाथिरको गठबन्धनले उक्त समारोह नै बहिस्कार गरेको थियो ।

मलेसियाको संविधान बमोजिम प्रधानमन्त्री बन्नका लागि कम्तिमा ११२ सांसदको समर्थन आवश्यक हुन्छ । मलेसियामा बहुमत प्राप्त दल वा गठबन्धनको नेतालाई राजाले देशको प्रधानमन्त्री घोषणा गर्ने व्यवस्था छ ।

यसैबीच सुधारवादी गठबन्धनलाई सरकारबाट विमुख गराएको भन्दै जनताको क्रोध व्यक्त गरेका छन् । ट्विटरमा “नटमाइपीएम” ह्यासट्यागमा एक लाखभन्दा बढी व्यक्तिले राजाको पछिल्लो कदम २०१८ को चुनावी नतिजामाथि धोका भएको बताएका छन् ।

सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री रहेका महाथिर दुई वर्षअघि चुनाव जितेर पुनःसत्तामा आउनु भएको थियो । सरकार परिवर्तनका कारण नजिक रजाक विरुद्ध अदालतमा चलिरहेको मुद्दामा पनि सरकार परिवर्तनले असर पार्न सक्ने भन्दै महाथिर चिन्ता व्यक्त गर्नु भएको छ ।

विश्लेषकले संसद्मा बहुमत रहे नरहेको स्पष्ट भइनसकेका कारण मोहिउद्दीनको सरकार कमजोर स्थितिमा रहेको बताएका छन् । खासै जनाधार नरहेको सानो दलको प्रतिनिधित्व गर्ने मोहिउद्दीनलाई संसद्मा बहुमत जुटाउन फलामको च्यूरा चपाए सरह हुनेछ ।

एक एमडीबी घोटालासम्बन्धी आलोचना गरेका कारण सन् २०१५ मा नजिबले आफ्नो पार्टीबाट निष्काशन गरेपछि मोहिउद्दीन महाथिरको गठबन्धनमा समावेश हुनु भएको थियो । यसैबीच, मोहिउद्दीनले गत साता नाटकीयरुपमा रजाक नेतृत्वको युएमएनओ पार्टीसँग हात मिलाउनु भएको थियो, यद्यपी उहाँले पार्टीको सदस्यता भने लिनुभएको छैन ।

उहाँ एक मुसलमान राष्ट्रवादी नेता हुनुहुन्छ । उहाँ आफूलाई मलेसियाली भन्दा पनि मलेए भन्न रुचाउनु हुन्छ । बहुजातीय मलेसियामा उहाँको विवादास्पद छवि र विचारका कारण देशको तनावपूर्ण जातीय र धार्मिक सम्बन्धमा अझ तिक्तता आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
मलेसियाको कूल जनसङ्ख्याको करिब ६० प्रतिशत आदिवासी मलाए मुस्लिम छन्, र यहाँ चिनियाँ एवं भारतीय अल्पसङ्ख्यकको पनि बाक्लो उपस्थिति छ ।

सत्तारुढ गठबन्धनका सांसदले नयाँ सरकार गठन गर्न र महाथिरका सम्भावित उत्तराधिकारी अन्वर इब्राहिमलाई हटाउन विपक्षीसँग हात मिलाएसँगै मलेसियामा एक हप्ताअघि राजनीतिक सङ्कट सुरु भएको थियो ।

एक हप्ताको गतिशील आरोह अवरोहबीच महाथिर र अन्वरबीच नेतृत्वको लडाइँ तीब्र बनेको थियो । त्यसपछि उनीहरु अन्तिम समयमा मोहिउद्दीनलाई रोक्न फेरी एक ठाउँमा सामेल भएका थिए, तर यो प्रयास निकै ढिलो भइसकेको छ ।

तपाईको प्रतिक्रिया