राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल

  फागुन १८, २०७६

राँझा, १८ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिका छन् । ‘लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ’, उनले भने ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सुकुम्वासीलाई शनिबार जग्गाधनी पुर्जा वितरण गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले इतिहासमै पहिलोपटक उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे । ‘भोट माग्ने राजनीति सिद्धिने डरले कतिपय दलले सरकारविरोधी गतिविधिलाई बढावा दिएको हुनुपर्छ’, उनले भने, ‘पछिल्लो समय विकासको चिन्ता गर्नेभन्दा बढी विकासका गतिविधिका कारण चिन्तित हुनेको संख्या बढ्दै गएको छ ।’

मुख्यमन्त्री पोखरेलले भने, ‘सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा विभिन्नखाले नकारात्मक टीकाटिप्पणी हुने गरेको छ ।’ उनले नेपालले विकसित मुलुकहरू बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र प्रदेश सरकारले सञ्चालन गरेका काम जनताले अनुभूति गर्न थालेको बताए ।

सो अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–६ मा जग्गा उपभोग गरेका ११३ सुकुम्वासीलाई तेस्रोचरणको कार्यक्रम अन्तर्गत जग्गाधनी पुर्जा वितरण गरिएको थियो । उनीहरूले २२ वर्षपछि पुर्जा पाएको जनाइएको छ । पहिलो चरणमा २८ र दोस्रो चरणमा ११० जनाले जग्गाधनी पुर्जा प्राप्त गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया