कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

  फागुन १७, २०७६

लन्डन, १७ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

अधिकांश पीडित राजधानी तेहरानका र शुरुमा भाइरस देखिएको कुम शहरमा रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सङ्ख्याभन्दा यो छ गुणा बढी भएको बताइएको छ ।

शुुक्रबार सरकारी अधिकारीहरूले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए । यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए ।

इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताउनु भएको थियो । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए ।

हालसम्म विश्वमा ८३ हजारभन्दा बढी कोभिड–१९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन् । इरानी अधिकारीहरूले कोभिड–१९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् । शनिबारदेखि देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ ।

तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया