दशरथ चन्द मेयरकपको उपाधि बाराकोटलाई

  फागुन १७, २०७६

बैतडी, १६ फागुन : बैतडीको दशरथचन्द नगरपालिका (दनपा) मा सम्पन्न तेस्रो संस्करणको मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दनपा–१० बाराकोटले हात पारेको छ । फाइनल भिडन्तमा बाराकोटले दनपा–४ खलङ्गालाई ३७ रनले पराजित गरेको हो ।

बाराकोटले दिएको १२८ रनको लक्ष्य पछ्याएको खलङ्गा १८ ओभरमा ९३ रनमा सीमित भयो । खलङ्गाका लागि सन्तोष चन्दले २० र सुरज बोहराले १८ रन बनाए पनि हार भने टार्न सकेनन् । बाराकोटका लागि किसन बुडाल एक्लैले चार विकेट हात पारे ।

आज बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा यसअघि पहिला ब्याटिङ गरेको बाराकोटले २० ओभरमा १२७ रन बनाएको थियो । बाराकोटका लागि प्रेम बुडालले १६ तथा उत्तम चन्दले १४ रनको योगदान गरे । खलङ्गाका प्रदीप चन्दले तीन तथा मोहित भण्डारीले दुई विकेट हात पारे । म्यान अफ द फाइनल बाराकोटका किसन बुडाल भएको नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।

उपाधिसँगै बाराकोटले रु ७५ हजार पुरस्कार प्राप्त ग¥यो भने खलङ्गाले रु ५० हजारमा चित्त बुझायो । यस्तै म्यान अफ द सिरिज दनपा–११ नागार्जुनका राम चन्द भएका छन् । नागार्जुनकै मदन चन्द उत्कृष्ट बलर चुनिए भने दनपा–४ का सुरज बोहराले उत्कृष्ट ब्याट्सम्यानको उपाधि जिते ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दलगायतले पुरस्कार वितरण गर्नुभयो ।

यसअघि मेयर कपको दोस्रो संस्करणको उपाधि दनपा–५ दशरथचन्दले हात पारेको थियो भने पहिलो संस्करणको च्याम्पियन दनपा–४ खलङ्गा भएको थियो । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नगरपालिकाको आयोजना तथा नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालनमा भएको हो । फागुन ७ गतेदेखि शुरु भएको प्रतियोगितामा ११ टोली सहभागी थिए ।

तपाईको प्रतिक्रिया