राष्ट्रिय कविता प्रतियोगितामा पोखरेल पहिलो

  फागुन १७, २०७६

काठमाडौँ, १६ फागुन : गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो हुनुभएको छ ।

नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित हुनुभएका पोखरेलले रु ५१ हजार र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा दिनेशविक्रम थापा दोस्रो हुनुभयो । उहाँले रु ३१ हजार प्राप्त गर्नुभएको छ । त्यस्तै पदम दाहालले तेस्रो स्थान हासिल गरी रु २१ हजार हात पार्नुभयो ।

याज्ञवल्क्य न्यौपाने र डा सत्यराज थपलियाले सान्त्वना पुरस्कार रु १०–१० हजार प्राप्त गर्नुभयो । विजयी कविहरूलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रमाणपत्रसहित पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा उहाँले नेपाली साहित्यकारका कृति अनुवाद गरी विश्वस्तरमा लैजानुपर्नेमा जोड दिनुभएको थियो ।

प्रदेशतर्फ १ नम्बरबाट जीवन आरोही, खोलाघरे साइँलो र गणेशप्रसाद खतिवडाले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाउनुभएको छ । प्रदेश नं २ बाट सम्पतकुमार काफ्ले उत्कृष्ट हुनुभयो । वाग्मती प्रदेशबाट शम्भुप्रसाद गजुरेल, दीपक सापकोटा र मुकुन्द शर्मा चालिसेले पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाउनुभयो ।

गण्डकी प्रदेशबाट संयोग बस्याल, राजकुमार देवकोटा र गङ्गा आचार्य सापकोटाले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाउन सफल हुनुभयो । प्रदेश नं ५ बाट कर्मसही घर्ती मगर, सुमन थापा र आरबी निश्चलले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानको पुरस्कार जित्नुभयो ।

त्यस्तै कर्णाली प्रदेशबाट सिर्जना शर्मा, उमेश पुन एटम र नगेन्द्रप्रसाद आचार्यले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाउन सफल हुनुभएको घोषणा गरियो । सुदूरपश्चिम प्रदेशबाट हिरा भट्ट, मोहित जोशी र केशवराज भट्ट सागरले क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाउनुभयो । प्रदेशमा उत्कृष्ट भएका सबै कवि–कवियत्रीहरूलाई जनही रु पाँच हजार र प्रमाणपत्र प्रदान गरियो ।

महोत्सवको उद्घाटन बिहान संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेशकुमार भट्टराईले गर्नुभएको थियो । स्थानीय तहले देशव्यापीरूपमा कवि एवं कवयित्रीको सहभागिता गराएर पहिलो पटक यस किसिमको प्रतियोगिता आयोजना गरेको जनाइएको छ ।

प्रतियोगिताका लागि २५० कवि एवं कवयित्रीले आफ्नो रचनासहित सहभागिताका लागि आवेदन दर्ता गराउनुभएको थियो । त्यसमध्येबाट निर्णायक मण्डलले ४० जनालाई छनोट गरेको थियो । आजको प्रतियोगितामा ४० कवि एवं कवयित्रीको कविता वाचनपछि निर्णायक मण्डलले यस्तो घोषणा गरेको हो ।

आख्यानकार रमेश विकलको सक्रियतामा स्थापना भएको ‘ग्राम निर्माण बन्धु मण्डल क्लब’मा बीसको दशकदेखि नै उहाँकै सक्रियतामा कविगोष्ठी हुने गरेको थियो । त्यही इतिहासलाई पुनःजागृत गर्न नगरपालिकाले देशव्यापी प्रतियोगिता आयोजना गरेको नगरप्रमुख सन्तोष चालिसेले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया