नयाँ पर्यटकीय गन्तव्य : बैठौलिया कपरकट्टी ताल

  फागुन १६, २०७६

रुपन्देही, फागुन १६ : नयाँ पर्यटकीय गन्तव्यमा बुटवल उपमहानगरपालिका–१६ मा रहेको बैठौलिया कपरकट्टी ताल थपिएको छ । तालमा बिहीबारदेखि डुङ्गा सञ्चालनमा ल्याइएको छ । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले बिहीबार शुभारम्भ गर्दै प्रदेशका पर्यटकीय गन्तव्यको विकासका लागि भ्रमण संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘विदेशी पर्यटक भित्र्याउने भन्दा नेपालका नागरिक नेपालमै घुम्ने संस्कृतिको विकास भए पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने छ ।’ मुख्यमन्त्री पोखरेलले पर्यटक भित्र्याउन पर्यटनमैत्री संस्कृतिको विकास गर्न जरुरी रहेको र पर्यटनबाटै प्रदेशको समृद्धिको सपना साकार हुने धारणा राखे। ‘शहरमा मौलिक संस्कृति हराउँदै गए पनि गाउँमा सांस्कृतिक मौलिकता बाँचिराखेको छ, यो नै पर्यटकको रोजाइ हुनसक्छ’, उनले भने। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कपरकट्टी ताललाई त्यस क्षेत्रका पर्यटकीय र ऐतिहासिक क्षेत्रसँग जोडेर विकास गर्ने योजना बनेको बताए ।

चालू आवमा रु ४० लाख बजेट छुट्याएर तालको सरसफाइ गरिएको जानकारी गराउँदै उहाँले अन्य पर्यटकीय पूर्वाधार विकासको कामलाई समेत प्राथमिकता दिने जानकारी दिए । अतिक्रमणमा परेर शुरुमा सात बिघा क्षेत्रमा खुम्चिएको क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ । झण्डै दुई किलोमिटर लामो र करिब ३०० मिटर चौडाइमा फैलिएको तालको गहिराइ करिब पाँच मिटर छ । नील दहका नामले चिनिने र स्थानीय थारू समुदायले थकाइ मेट्नका लागि आएर बस्ने यो ताल क्षेत्र झण्डै सय वर्ष पुरानो मानिन्छ । ओझेलमा परेको यो ताललाई बुटवलमा जनप्रतिनिधि चुनिएपछि व्यवस्थित गरिएको हो । सिमसार क्षेत्रको यो ताललाई उपमहानगरपालिकाले बुटवलको अमूल्य सम्पदा मानेर प्राथमिकता साथ संरक्षण गर्दै अहिले पर्यटकीय गन्तव्य बनाएको छ । सात बिघाबाट करिब २४ बिघा क्षेत्रफलमा विकास गरिएको झण्डै डेढ किलोमिटर लामो ताललाई थप आकर्षक बनाउने गरी योजनाबद्ध कामको थालनी गरिएको उपमहानगरका प्रवक्ता अध्यक्ष रामप्रसाद रेग्मीले जानकारी दिए ।

एकीकृत शहरी विकास योजनामा यहाँको पर्यटकीय क्षेत्र, सांस्कृतिक सम्पदाका क्षेत्र एवं कृषियोग्य जमिन र आवासका लागि अलग–अलग जमिनको वर्गीकरण गर्दै आकर्षक गन्तव्यका रूपमा विकास गर्न लागिएको प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए । बुटवलका पर्यटकीय क्षेत्रका रूपमा जितगढी, मणिमुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिलपार्क, पिसपार्क, मिलनपार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अगाडि बढाएको छ । यी सबै क्षेत्रलाई जोड्ने गरी बुटवलले बुटवल चक्रपथ निर्माणको काम तीव्र भइरहेको शहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिए । उनले निजी क्षेत्रको समेत सहकार्यमा नयाँ कार्यक्रमको तयारी भइरहेको बताए ।

ताललाई भविष्यमा आन्तरिक र बाह्य पर्यटकको आकर्षणको थलो बनाउँदै बुटवलको जितगढी किल्ला, नुवाकोट, सिद्धबाबा र हिलपार्कसँग जोडेर पर्यटकको बसाइँ लम्ब्याउने योजना रहेको उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिए । तालमा ताल परिसरमा वनहाँस, वनकुखुरा, सिमकुखुरा र जलेवाजस्ता चराचुरुङ्गीसमेत पाइन्छन् । ताल संरक्षण समिति अध्यक्ष खेमलाल कँडेलले स्थानीय तहसँग समुदायले सहकार्य गरेर थप आकर्षक कार्यक्रम तय गरिने र व्यस्त शहरका मानिसलाई मन लोभ्याने ठाउँका रुपमा विकास गरिने बताए । नजिकै रहेको नरैनापुरधाममा रहेको शिवलिङ्गलाई काठमाडौँको पशुपतिनाथसँग तुलना गर्ने गरिन्छ । धाम परिसरमा भ्यूटावर, नजिकै खेलमैदान बनाउने उपमहानगरको तयारी छ ।

नरैनापुर क्षेत्रलाई बुद्धकालीन ऐतिहासिक क्षेत्र पनि मानिन्छ । यहाँ बुद्ध खेल्दै र डुल्दै आउने गरेको बताइन्छ । यहाँ प्राचीनकालदेखि परम्परागत शिवरात्री मेला लाग्दै आएको छ । नरैनापुर धाम हिन्दु अनुयायीहरुको एउटा पवित्र तीर्थस्थल हो । यहाँ देश विदेशका हिन्दु धर्मावलम्बीहरुको हरेक वर्ष शिवरात्री र साउनमा घुइँचो लाग्ने गर्दछ । नरैनापुरधामको मेलामा भारतको पटना, बिहार, गोरखपुर, लुधियाना र नेपालको तराईका अधिकांश जिल्लाबाट शिवरात्रिमा भक्तजन आउने परम्परा छ । उपमहानगरले यो क्षेत्रलाई शान्त र रमणीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने पर्यटनविज्ञ बताउँछन् । बुद्धावलीअन्तर्गत रहेका बुटवलसहित सैनामैना, देवदह, नौकट्टीलाई समेत जोडेर एकीकृत पर्यटन विकास गर्न सकिने सम्भावना छ ।

तपाईको प्रतिक्रिया