खानेपानी संस्थानको क्षमता बढाउन निर्देशन

  फागुन १५, २०७६

काठमाडौं, १५ फागुन : खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढङ्गले सुदृढ बनाई नयाँ योजनाका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिनुभएको छ । नेपाल खानेपानी संस्थानको ३१औँ वार्षिकोत्सव समारोहमा आज मन्त्री मगरले संस्थानको गरिमालाई अझ उचाईमा पु¥याउन नयाँ कार्ययोजनासहित अघि बढ्न निर्देशन दिनुभएको हो ।

“संस्थानको आवश्यकता अहिले हरेक जिल्ला र स्थानीय तहमा परिरहेको छ । एउटै गति र एकरुपतामा काम अघि बढाउनुस् । यो संस्थाको उचाई अझ बढाउनुस्”, उहाँले भन्नुभयो, “सरकार यो संस्थालाई सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको छ ।” संस्थानले नयाँ कार्यक्रम ल्याई आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताउनुभयो । “संस्थानका चुनौती धेरै छन, यी चुनौतीसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “संस्थानले सानातिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणालीमा आधारित ठूल्ठूला खानेपानी आयोजनाको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ । त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ ।”

उहाँले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तरराष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गर्नुभयो । संस्थानका महाप्रबन्धक डा.भूपेन्द्र प्रसादले खानेपानीको समस्या भएका मुख्य सहरहरु बुटवल, नेपालगञ्ज, पोखरा र विराटनगरमा खानेपानी आपूर्ति गर्ने गरी कामहरु अघि बढेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया