तेस्रो मेयर गोल्डकपको उपाधि सर्लाहीलाई

  फागुन १५, २०७६

लहान, १४ फागुन : सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित तेस्रो मेयर गोल्डकपको उपाधि बागमति फुटबल क्लब सर्लाहीले जितेको छ । प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा चर्च ब्याइज क्लब काठमाडौंलाई शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै बागमतिले उपाधि हात पारेको हो ।

प्रतिस्पर्धात्मक खेलको दोश्रो हाफको १५औँ मिनेटमा बागमतिका विदेशी खेलाडी फिलिपले गोल गर्दै टीमलाई अग्रता दिलाउनुभएको थियो । त्यसको २० मिनेटपछि बागमतिका दीप लामाले हेडमार्फ सुन्दर गोल गर्दै जित सुनिश्चित गराउनुभएको थियो । प्रतियोगिताको उपाधिसँगै बागमतिले रु तीन लाख नगद तथा शिल्ड हात पारेको छ भने उपविजेता चर्च ब्याइज क्लबले रु एक लाख ५० हजार नगद र कपमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्बाेत्कृट खेलाडी बागमतिका याङदोर्जे लामा हुनुभयो । उहाँले रु १५ हजारसहित सम्मानपत्र प्राप्त गर्नुभयो । उत्कृष्ट गोलकीपर चर्च ब्वाइजका रेम्बो चौधरी, उत्कृष्ट डिफेन्स निरज बस्नेत, उत्कृष्ट फरवार्ड रोशन तुम्वाहाम्फे र सर्वाधिक गोलकर्ता बागमतिका विदेशी खेलाडी फिलिप घोषित भएको आयोजकका कसम लामाले जानकारी दिनुभयो ।

उहाँहरुले नगद रु १० हजार हात पार्नुभयो । गोलबजार नगरपालिकाको सहयोगमा गोलबजार प्रतिभा संरक्षण क्लबद्वारा यही फागुन ७ गतेदेखि सञ्चालित प्रतियोगितामा आठ टीमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया