सैनिक मुख्यालय निर्माण गर्ने मजदूरले भुक्तानी पाएनन्

  फागुन १४, २०७६

काठमाडौँ, १४ फागुन : नेपाली सेनाको मुख्यालय भवन पुनःनिर्माण गर्ने केसी कन्स्ट्रक्सनले उद्घाटन भएको १० महिना बितिसक्दा मजदूरलाई भुक्तानी दिएको छैन । भूकम्पले भत्किएको भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तीन अर्ब ५१ करोडको लागतमा निर्माण भएको थियो ।

केसी कन्स्ट्रक्सन कुपण्डोलले निर्माण ठेक्का पाएको भवन क्वेष्ट सोलुसन नक्सालले सब कन्ट्याक्टरका रुपमा काम गरेको हो । क्वेष्ट सोलुसनमार्फत् पेटी ठेक्का लिएका २० जना कामदारले करिब २५ करोड नपाएको भन्दै मंगलबारदेखि नेपाली सेनाको मुख्यालय अघि ‘प्ले कार्ड’ सहित धर्ना शुरु गरेका छन् । निर्माण व्यवसायीले १० दिनपछि दिन्छु, १५ दिनपछि दिन्छु भन्दै झुलाउँदा एक वर्षदेखि काम गरेको पैसा पाउन नसकेको धर्नामा सहभागी पेटी ठेक्का लिएका रमेश शिवाकोटीले बताए ।

काम गरेको पैसा नपाएपछि दशैँअघि प्रधानसेनापतिको सचिवालयमा मौखिक एवं लिखित निवेदन दिँदा समेत सुनुवाई नभएको उनको गुनासो छ । काम गरेको पैसा नपाएसम्म मुख्यालयअघि धर्ना दिने भन्दै दुई दर्जन बढी कामदार ‘प्ले कार्ड’ सहित बसिरहेका छन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे केसी कन्स्ट्रक्सनलाई सबै भुक्तानी दिइसकेको बताउँछन् । सम्झौता गरेको निर्माण व्यवसायीलाई भुक्तानी भइसकेकाले पेटी कन्ट्याक्टरको विषय उसैले मिलाउनुपर्ने उनको भनाइ छ ।

क्वेष्ट सोलुसनका खरिद एकाइ हेर्ने कर्मचारी साजन पौडेले केसी कन्स्ट्रक्सनले बिल भुक्तानी नगरेका कारण पेटी कन्ट्याक्टरलाई तिर्न नसकेको बताउँछन् । ‘भवन पुनःनिर्माणका लागि मैले व्यवसायीसँग सामान मगाएको थिएँ, भुक्तानी नपाएका कारण एक वर्षदेखि दिन सकेको छैन, कार्यालयमा दैनिक फोन आउँछ, यसैले दुई महिना छुट्टि लिएर पनि बसेँ, तर अझै भुक्तानी पाउन सकिएको छैन’, उनले भने । यस सम्बन्धमा प्रतिक्रिया लिन केसी कन्स्ट्रक्सनका मालिक रोशन केसीसँग पटकपटक सम्पर्क गर्दा पनि उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

कन्स्ट्रक्सनको कार्यालय कुपण्डोलको नाममा रहेको नम्बरमा पटकपटक सम्पर्क गर्दा फोन उठेन । प्रधानसेनापतिको सचिवालयमा निवेदन दिँदा दर्ता नगरी ‘सेक्युरिटी चेक्ड’ मात्र लेखिदिएको मजदूरको गुनासो छ । काम गरेको करोडौँ ज्याला नपाउँदा सयौँ मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत धौ धौ भएपछि धर्नामा उत्रनुपरेको जनाएका छन् । भवनको उद्घाटन गत वैशाख १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया