पाथरखोलामा २० भेडा मरे

  फागुन १४, २०७६

जुम्ला, १४ फागुन : हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् ।

अज्ञात रोगले मंगलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । ‘भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे,’ कृषक अधिकारीले भने । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन ।

‘जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके । अझ कति मर्ने हुन् । रोग फैलिएको छ ।’ उनले भने । बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन । शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि सो गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ ।

सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेडा मरेको जानकारी पाएको जानकारी दिए । उनले भने, ‘औषधि दिएर पठाएका छौँ ।’ शाखामा सात जनाको कर्मचारी दरबन्दी रहेको छ । अहिले एकजना मात्र कार्यरत रहेका छन् । उनले भने ‘एकजना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ ।’

गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको जानकारी दिए । ‘पर्याप्त कर्मचारी छैनन्’, उनले भने, ‘भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ ।’

तपाईको प्रतिक्रिया