बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी

  फागुन १४, २०७६

सर्लाही, १४ फागुन : सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म ३५ करोड भुक्तानी गरिसकेको छ ।

उद्योगले हरेक १५÷१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा २३ करोड र दोस्रोमा ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कूल ३५ करोड मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताए । उहाँका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशंकर चिनी उद्योग हो ।

गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवातको रकम ६५.२८ का दरले हुनआउने २२ करोड ८३ लाख ७१ हजार ८६१.६ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशंकर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ । सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ ।

आफूहरूले किसानलाई समयमै चेक दिएको भए पनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले बताए । एनआइसी एशिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उनको भनाइ छ । आफूहरूले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआइसी एशिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताए । खाता नम्बर यकिन गरी काम गर्न २÷३ दिन लाग्ने भएका कारण ढिला भएको उनले बताए । छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत शुरु गरिएको उनले बताए ।

कूल ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ सञ्चालन शुरु गरेको उद्योगले ब्लक बनाएर उखु क्रसिङ गरिरहेकामा हालसम्म २३ लाख क्विन्टल उखु क्रसिङ गरी सकिएको रजकले बताए । अघिल्लो वर्षको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी धमाधम दिन शुरु गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरु गरे पनि सरकारबाट पाउने रकममा आलटाल भइरहेको मैनालीले बताए ।

सर्लाहीमा तीन चिनी उद्योग रहेको भए पनि हाल दुई मात्र सञ्चालनमा छन् । इन्दु शंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन् भने किसानको भुक्तानी बाँकी राखेको अन्नपूर्ण चिनी उद्योग धनकौल अहिले बन्द छ । किसानलाई एकातिर उखुको भुक्तानी नपाउने चिन्ता रहिरहेको समयमा खेतमा रहेको उखु क्रसिङ गर्न कृषि मजदुर नपाउने समस्या त्यत्तिकै छ । जसका कारण उखु उत्पादक किसानले समयमै उखु काटेर चिनी उद्योगसम्म पु¥याउन नसक्दा उखु खेतमै सुक्न थालिसकेको छ ।

वर्षदिनभरि मेहनत गरेर उत्पादन गरेको बाली मुखमा आएर खेतमै सुक्ने अवस्थामा पुग्दा किसान थप मारमा परेका छन् । गाउँघरमा रहेका युवाशक्ति स्वदेशमा रोजगारीको सिर्जना नभएको भन्दै विदेश गएपछि अहिले गाउँमा युवा मजदुरको अभाव छ । खेतबारीमा काम गर्ने कृषि मजदुरको अभावपछि अहिले आफ्नो परिवारमा रहेका सबै सदस्य नै खेतबारीमा खटिन बाध्य छन् । कतिपयका आफ्ना जवान छोरा पनि वैदेशिक रोजगारीका लागि विदेश जाँदा अहिले वृद्धवृद्धा मात्र घरमा रहेका र खेतबारीमा काम गर्न बाध्य भएका छन् ।

गाउँमा कृषि मजदुरको अभाव भएपछि काम लगाउने ठेकेदारले आफ्नो मनोमानीमा ठेक्का लिने गरेका कारण आफूहरू थप मारमा परेको किसानको गुनासो छ । मजदुरको ज्यालामा आफुहरूको खर्च बढिरहेको किसानले बताएका छन् । सामान्य तरकारीदेखि उखुखेतीसम्म कृषि मजदुरको अभाव प्रत्यक्ष परेको किसानले बताएका छन् ।

तपाईको प्रतिक्रिया