महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

  फागुन १३, २०७६

नयाँ दिल्ली, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्तरुपमा उभिने प्रतिबद्धता जनाउनु भएको छ ।

भारत भ्रमणमा रहनु भएका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गर्नुभएको हो ।

समाधिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ, “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्तरुपमा उभिन्छन्, यही नै तपाइप्रति श्रद्धासुमन छ ।”

महात्मा गान्धीलाई श्रद्धाञ्जलि दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट जानु भएको थियो ।

त्यहाँ रहँदा उहाँहरुले एक मिनेट मौन धारण गर्नुभएको थियो । सो अवसरमा उहाँहरुलाई केन्द्रीयमन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहार स्वरुप प्रदान गर्नुभएको थियो ।

राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले बृक्षरोपण पनि गर्नुभएको थियो । दुई दिने भ्रमणका लागि सोमबार भारत आउनु भएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रङ्गशाला र प्रेमको प्रतिक मानिने ताज महल जानुभएको थियो ।

रङ्गशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गर्नु भएको थियो ।

आफ्नो कार्यकालको अन्तिम वर्ष भारत भ्रमणमा आउनु भएका ट्रम्प मङ्लबार राति स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञले विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया