अन्य मुलुकमा पनि फैलिँदै कोरोना संक्रमण, दक्षिण कोरियामा ७ को मृत्यु

  फागुन १२, २०७६

सोल, १२ फागुन : दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूका लागि आह्वान गर्नुभएको छ । तर पनि यस भाइरसबाट संक्रमितको संख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

केही दिनदेखि संक्रमितहरुको संख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा संक्रमण देखिएको छ । दक्षिण कोरियामा कुल संक्रमितको संख्या ७६३ पुगेको सोमबार जनाइएको छ ।

त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या सात पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनमा मृत्यु हुनेको संख्या दुई हजार ५ सय ९२
कोरोना भाइरसको संक्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ५९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन् ।

गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ । तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या लगातार करिब १०० रहेको जनाइएको छ । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्तिहरु सबै हुबेइ प्रान्तका रहेका छन् ।

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताउनुभएको छ । संक्रमित हुनेको संख्या एकाएक अत्यधिक तीव्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उहाँले आइतबार जानकारी दिनुभएको थियो । आगामी केही दिन संक्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायबारे छलफल तथा तयारी भइरहेको पनि जानकारी दिनुभयो । “सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ,” उहाँले भन्नुभयो ।

इरानमा १२ जनाको मृत्यु
इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुने व्यक्तिको संख्या १२ पुगेको संसद्का एक प्रवक्ताले बताएका छन् ।

संसदको बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाइ उद्धृत गर्दैै अर्ध सरकारी समाचार संस्था इस्नाले भाइरसको संक्रमण ४७ जनामा देखिएको जनाएको छ ।

अफगानिस्तान, बहराइन र कुवेतमा पनि संक्रमण
एएफपीका अनुसार अफगानिस्तान, बहराइन र कुवेतमा पनि कोरोना संक्रमित व्यक्ति फेला परेको छ । कुवेतमा फेला परेका संक्रमित तीन व्यक्ति इरानबाट आएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया