बेइजिङ, फागुन १२ : चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को संक्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन शुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बताएका छन् । चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ सांस्कृतिक क्रान्ति सफल भएसँगै सन् १९४९ मा कम्युनिष्ट शासन शुरू भएको थियो ।
संक्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाइ भएको तर्फ संकेत गर्दै उनले भने, ‘चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी बाट सिक्नु जरूरी हुनेछ ।’
चीनको राज्य सञ्चालित टेलिभिजन च्यानल सीसीटीभीले प्रशारण गरेको रिपोर्टमा बताइएअनुसार सीले भने, ‘ कोभिड–१९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाइ भएका हो ।’
‘यो हाम्रा लागि एउटा संकट अनि ठूलो परीक्षण हो,’ उनले भने ।
चीनमा कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको संख्या चीनमा मात्रै दुई हजार ४०० पुगेको र मुख्यभूमि चीनमा ७७ हजारभन्दा बढीमा उक्त भाइरसको संक्रमणको पुष्टि भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको यो प्रतिक्रिया आएको छ । यसैबीच चीनमा भने कोरोना भाइरस संक्रमणका नयाँ बिरामीको संख्यामा पछिल्ला केही दिन यता घट्दो क्रममा देखिएको छ ।
राष्ट्रपति सीले आइतबार पहिलो पटक कोरोना भाइरस संक्रमणको महामारीले ‘निश्चितरूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने’ बताएका छन् । यद्यपि यसको असर ‘छोटो समयका लागि रहने अर्थात् यसको नियन्त्रण सम्भव’ भएको उनले बताए ।
चीनबाहेक विश्वका २५ मुलुकमा संक्रमण पुष्टि भएको भए पनि यसले प्रकोपको स्वरूप नलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । खासगरी अफ्रिकी महादेश र अन्य कतिपय मुलुकले कोरोना भाइरसको सम्भावित संक्रमण भएमा यसलाई नियन्त्रणका लागि तयारी नभएको उक्त संस्थाले जनाएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चीनपछि सबैभन्दा बढी इरानमा आठ पुगेको छ भने जापान, दक्षिण कोरियालगायतका मुलुकमा पनि यसको समस्या बढ्दो अवस्थामा देखिएको छ ।