टोकियो, ११ फागुन : डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या चार पुगेको छ । उक्त जहाजमा आएका र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका दुई अन्य वृद्धको बिहीबार मृत्यु भएको थियो
पानी जहाजमा जापानी सहर योकोहामा पुगेका ८० वसन्त पार गरेका एक जापानीको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको जापानी स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । उनी कोरोना भाइरसको सङ्क्रमणभन्दा पहिले अन्य रोगबाट समेत बिरामी रहेका बताइएको छ । ती वयोवृद्ध व्यक्तिलाई सङ्क्रमणको पुष्टिपछि स्थानीय एक अस्पतालमा छुट्टै राखी उपचार भइरहेको थियो ।
मन्त्रालयले ती तीनै जनाको मृत्युको कारण निमोनिया भएको बताएको छ तर ती तीनै जनामा कोरोना भाइरसको सङ्क्रमण भने यसअघि नै पुष्टि भइसकेको थियो ।
डायमण्ड प्रिन्सेसमा आएका ती यात्रुमध्ये ६०० जनाभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको र दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । एशियाली उक्त मुलुकमा कूल ८०० व्यक्तिभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।