परराष्ट्रमन्त्रीबाट गैरआवासीय नेपालीलाई लगानी आह्वान

  फागुन ११, २०७६

लिस्बन, ११ फागुन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले गरेको व्यवसाय र लगानीमा पूर्ण सुरक्षा दिइने बताएका छन् । गैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा शनिबार बार्सिलोनामा भएको छलफल तथा अन्तक्र्रियामा परराष्ट्रमन्त्री ज्ञवालीले सरकार सबै नेपालीका समस्या समाधान गर्न लागिपरेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० को पनि स्पेनमा उद्घाटन गर्दै उनले विदेशी नागरिकलाई नेपाल पठाउन गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो । ‘गैरआवासीय नेपालीहरूको सामाजिक, सांस्कृतिक र आर्थिकसहितको अधिकारसम्बन्धी कानून बनेको छ । संसद्मा विचाराधीन नागरिक विधेयक पनि छिट्टै पास हुन्छ’, उनले भने । सो विधेयक गैरआवासीय नेपालीका पक्षमा सकारात्मक भएको उहाँको भनाइ थियो ।

सो अवसरमा गैरआवासीय नेपाली नागरिकता विधेयक, स्पेन र नेपालको कूटनीतिक सम्बन्ध र भ्रमण वर्षका बारेमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा स्पेनका लागि नेपाली राजदूत फुटी शेर्पाले स्पेनमा रहेका नेपाली समुदायको समस्या समाधानका लागि राजदूतावास निरन्तर लागिपरेको बताउँदै भ्रमण वर्ष प्रचारप्रसारका लागि पनि विभिन्न संघसस्थासँग सहकार्य गर्दै योजना बनाई लागिपरेको जानकारी दिए । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली नागरिकले नेपालमा लगानी गर्न निकै झन्झटिलो भएकाले लगानी वातावरण सहज बनाइदिन नेपाल सरकारले चासो दिनुपर्नेे बताए । परराष्ट्रमन्त्री ज्ञवाली जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औंँ उच्चस्तरीय बैठकमा भाग लिन स्वीट्जरल्याण्ड आउने क्रममा स्पेनमा पनि आएका हो ।

तपाईको प्रतिक्रिया