‘कोरौँ मुहार चित्र’को दोस्रो शृङखलामा कुलपति रायन

  फागुन ११, २०७६

काठमाडौँ, ११ फागुन  : जलरङमा कुचि चोपेर चित्र सिर्जना गर्ने चित्रकारको प्रयासमा शुरु भएको ‘कोरौँ मुहार चित्र’ अभियानको दोस्रो शृंखलामा कलाकारले आज नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लाई उभ्याएका छन् ।

प्रतिष्ठानको कार्यालय बालुवाटारमा उपस्थित कलकारले विभिन्न कोणबाट रायनको ‘मुहार चित्र’ उतारेका छन् । अन्तरराष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा साप्ताहिक शृंखला अन्तरगत शनिबार प्रत्यक्ष मुहार चित्र बनाउन अभियान थालिएको हो ।

गत शनिबार कलाकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको मुहार चित्र सिर्जना गरेका थिए । चित्रकलाका विधामध्ये मुहार चित्र (पोट्रेट) चुनौतीपूर्ण विधा हो । दृश्यमा यताउता भए पनि मुहार चित्रको मसिना पक्ष महत्वपूर्ण मानिन्छ । विश्वमा मुहार चित्र बनाउने विधा प्रख्यात भएपनि नेपालमा खासै व्यावसायिक छैन । त्यसैले सीपको विकाससँगै विधालाई स्थापित गर्ने आफूहरूको उद्देश्य रहेको समाजका नेपाल अध्यक्ष एनवी गुरुङले बताए ।

नेपाली चित्रकारको रुचि दृश्य चित्रमा बढी छ । कहिले काहीँ उनीहरूले नै मुहार चित्र बनाउँछन् । त्यही दृश्य चित्र बनाउने कलकारहरू नै अहिले मुहार चित्रलाई व्यावसायिक रुपमा अघि बढाउन लागि परेका छन् । आजको दोस्रो शृंखलामा कलाकारहरू एनवी गुरुङ, डिराम पाल्पाली, दिपेन्द्रमान बनेपाली, लालकाजी लामा, विनोद गुग्तालगायतको सहभागिता थियो ।

उक्त कार्यक्रमको उद्घाटनका क्रममा कुलपति रायनले कलाकारहरूबाट राम्रो अभियानको शुरुआत भएको बताउँदै यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया